प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : अपराध रिपोर्ट
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं क्षेत्रपाटी बस्ने मकवानपुर हटौंडा ठेगाना भएका ३८ वर्षीय रगुन खड्केलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३६ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद ठहर भएका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले  काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । खड्केले महालक्ष्मी बिकास बैंक लिमिटेड न्यूरोडको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

भरुवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामान सहित पक्राउ
२०७८-१०-२२

झापा, मेचीनगर नगरपालिका-२ भृकुटी तितिरी चोकबाट भरूवा बन्दुक बनाउन प्रयोग हुने फलामको पाईप ७ थान, बारूद बनाउन प्रयोग हुने गन्धक जस्तो पदार्थ ३ किलो र बारूद बनाउन प्रयोग हुने सोडा जस्तो पदार्थ ५७ किलो सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-४ आमडाँगी बस्ने २० वर्षीय धनपती भारती र तेह्रथुम आठराई गाउँपालिका-५ बस्ने ६२ वर्षीय तेजमान लिम्बु रहेका छन् । बाहुनडाँगीबाट भृकुटीतर्फ जाँदै गरेको मे.१ ह ६०५६ नम्बरको टेम्पोमा लुकाई ल्याएको उक्त सामानहरु फेला परेको भन्ने खबर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीले ईलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएपश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीले टेम्पो, टेम्पोका चालक धनपती र उक्त सामानको धनी तेजमानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नक्कली नेपाली रुपैयाँ सहित २ जना पक्राउ
२०७८-०९-०४

सर्लाही, मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम सोनवर्षा-६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र भारत बिहार राज्य सितामढी थाना सोनवर्षा ग्राम लालबन्दी चिलरी-१ बस्ने ४८ वर्षीय प्रमोद कुमार रहेका  छन् ।नेपालबाट भारतको सोनवर्षातर्फ जाँदै गरेको बीआर ३० वाई ४१३९ नम्बरको मोटरसाइकललाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको शरीर तथा मोटरसाइकल तलासी गर्दा मोटरसाइकलको डिक्की र सिटको बिचको भागबाट उक्त नक्कली जस्तो देखिने रुपैयाँ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट विभिन्न दरका १ सय ७० नेपाली रुपैयाँ र विभिन्न दरका ४७ हजार ५ सय १० भारतीय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ठगीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ
२०७८-०९-०४

 सप्तरी,  जबरजस्ती करणी मुद्दा लगाई दिन्छु भनी १ लाख नगद ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खडक नगरपालिका-९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।रुबिनाले पीडित महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई जबरजस्ती करणी गरेको छ मुद्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै जबरजस्ती करणी मुद्दा लगाई जेल पठाईदिन्छु भनी बार्गेनिङ गरी मंसिर १० गते पीडितसँग १ लाख रकम लिई ठगी गरेको घटनामा संलग्न रहेकामध्ये रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

अवैध रुपमा ल्याएको सुन सहित ३ जना पक्राउ
२०७८-०८-२५

काठमाडौं,  नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर यु३६०९७२७ बाहक ३१ वर्षीय सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९ सय ५ ग्राम अर्धठोस सुन सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा उनको मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी जजिरा एयरको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलि अवैध रुपमा ल्याएको ३ सय ४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको व्यागलाई विमानस्थलको आन्तरिक उडानतर्फको होल्ड व्यागेज एरियमा एक्स-रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई बरामद धातु सहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०७८-०७-२६

काठमाडौं,    विभिन्न व्यक्तिहरूबाट ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने भारत कोडामबाक्कम चेन्नाई तामिलनाँडु घर भएका ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शिवमले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको भनि झुट्टा कागजात र कुराकानी तयार गरि विभिन्न ब्यक्तिहरूलाई अस्पतालमा पार्टनरसिपको प्रलोभन देखाई ठगी गर्ने गरेको, बिभिन्न व्यक्तिहरूको स्वामित्वको जमिनको लालपूर्जा समेत आफ्नो नियन्त्रणमा लिई ठगी गर्ने गरेको, विभिन्न बैंक तथा बित्तिय संस्थामा ठूलो परिमाणमा आफ्नो नाममा संस्थापक शेयर रहेको भनि झुट्टा कागजात तथा बिवरण देखाई ठगी गर्ने गरेको, आफूलाई International Committee Of The Red Cross(ICRC) को डाईरेक्टर हुँ भनि नक्कली परिचयपत्र देखाई नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध कायम रहेको देखाउने, विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता संचालन गरी ठगी मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको भन्ने जस्ता सूचनाको आधारमा महानगरिय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट उनलाई पक्राउ गरेको हो । उनले विभिन्न बर-बहाना अनुसार नै बिभिन्न ब्यक्तिबाट पटक पटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुसँग समेत ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै उनी २०७२ जेठ २२ गते पक्राउ परी बैदेशिक रोजगारी सम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०७-२२

कपिलवस्तु,     कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी महाराजगन्ज नगरपालिका-८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्यायलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।     उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई विगत ११ वर्षदेखि फरार रहेका भोलानाथ भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसिरहेकोमा केही समयदेखि कपिलवस्तु नगरपालिका-१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     २०६७ असोज ३१ गते साँझ कपिलवस्तु साबिक भलवारी गाबिस-८ सानो भलवारीमा मेला हेर्न गएका साबिक उदयपुर गाबिस-७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो । छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गतेनै प्रहरीले पक्राउ गरेको थियो ।     भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको तथा अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त पक्राउ
२०७८-०७-२२

कपिलवस्तु,     आफ्नै श्रीमती ३५ वर्षीया चिन्का लोनियाको हत्या गरी जङ्गलमा फालेर फरार रहेका अभियुक्त महाराजगंज नगरपालिका-११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । २०७८ असोज १७ गते दिउँसो बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा मानव कंकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले घटनास्थलमा गई आवश्यक अनुसन्धान गरेपनि तत्काल पहिचान खुलेको थिएन । गत असोज २६ गते ईलाका प्रहरी कार्यालय गोरुसिङेमा कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता भई अनुसन्धान भइरहेकोमा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट उनको सनाखत भएको थियो । घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कालाई राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरीले बुद्धभूमि नगरपालिका-९ डुमरामा फेला पारी पक्राउ गरेको हो । चिन्काले पर पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाई भदौ १५ गते जंगलमा बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०७-०९

ईलाम, झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । कमलले आफ्नै घरभित्र घर परिवारका सदस्यराखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका आफ्नै श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाटी तथा शरीरको बिभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

हत्या गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०६-३०

कैलाली, २०७८ असोज ३१ गते  आफ्नै पति धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकै पत्नी २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय बिष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । अमृता र बिष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारी कुटपिट गर्दा बिष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची हत्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-२२

नुवाकोट,  आफ्नै श्रीमती ३२ वर्षीया शुसिला राईको हत्या गरेको अभियोगमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

हत्या गरेको अभियोगमा पक्राउ
२०७८-०६-१९

काठमाडौं,  २०७८ असोज १९ गते   बुढानिलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मोरङ बिराटनगर घर भएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ताप्लेजुङ घर भएका ३५ वर्षीय प्रदिप लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रदिपले खड्कालाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । गम्भीर घाइते खडकाको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१४

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउकाठमाडौं, २०७८ असोज १४ गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो ।आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ
२०७८-०६-१३

ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउकाठमाडौं, २०७८ असोज १३ गते ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका-२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका-३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका-९ सिंदुरेघारी बस्ने ३२ वर्षीय शिव रोक्का रहेका छन् ।नेपालस्थित अमेरिकी दूतावासमा ईडिभि २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नबिन र शिवलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट मंगलबार दिउँसो पक्राउ गरेको हो ।थप अनुसन्धानको क्रममा नबिनसँग जिबनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाई समेत प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।उनीहरूलाई लिखत सम्बन्धि कसूर मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०६-१२

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउकाठमाडौं, २०७८ असोज १२ गते बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कपन बालुवाखानी बस्ने खोटाङ गाउँपालिका-३ घर भएका २६ वर्षीय खगेन्द्र खत्रीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनको २०७७ पुस २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र नगद १० लाख ६५ हजार ९ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालुवाखानीबाट पक्राउ गरेको हो ।खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ
२०७८-०५-१६

सल्यान, २०७८ भदौ १६ गते बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउण्ड गोली सहित जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।नेपालगंजबाट जाजरकोटतर्फ जाँदै गरेको सिएच ०१ बिपि २१९४ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रावललाई सोही नगरपालिका सल्लीस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले रोक्न खोज्दा नरोकी भागेपछि पिछा गर्दै गई माथिल्लो बजारबाट फेला पारी पक्राउ गरेको हो । रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल र गोली लुकाएको पाइएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोज्ने पक्राउ
२०७८-०४-११

काठमाडौं, २०७८ साउन ९ गते नक्कली नो-अब्जेक्सन लेटर प्रयोग गरी विदेश जान खोजेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने झापा भद्रपुर नगरपालिका-७ घर भएका २४ वर्षीय सुमन राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो-अब्जेक्सन लेटरमा विवरण किर्ते गरेर आफ्नो नाममा जारी भएको बनाई युक्रेन जान लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त ब्यूरोले जनाएको छ ।