"सत्य, सेवा सुरक्षणम्"
कास्की, पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित नैना दोहोरी साँझमा आगलागी करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बिष्णु आचार्यको उक्त दोहोरी साँझमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी भएको हो ।आगलागीबाट एसी ५ थान, मोबाईल १० थान, फ्रिज १ थान, सिसिटिभी क्यामेरा ५ थान, कम्प्युटर १ थान, साउण्ड सिस्टम १ सेट, टिभी १ थान, सोफा १५ सेट, विभिन्न ब्राण्डको मदिरा, ग्याँस गिजर १ थान, पंखा ४ थान लगायतका बिभिन्न सरसामानहरू, नगद ५० हजार रूपैयाँ र बैंक चेक लगायत कागजात जलेर क्षति भएको हो । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-७ सात घुम्तिस्थित कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय दिपक मण्डल, सोही महानगरपालिका-६ बस्ने ६५ वर्षीया सुनिता कामत र ५५ वर्षीया सुशिला पासवान रहेका छन् । आगलागीमा परी सुशिला पासवानको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका दिपक मण्डलको न्यूरो अस्पताल र सुनिताको बर्न अस्पताल कीर्तिपुरमा उपचारको क्रममा मृत्यु भएको हो । आगोले जलेर घाइते भएका अन्य ३ जनाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । उक्त आगलागीबाट अन्जुला कवाडी र रिया ट्रेडर्सको कवाडीको सामान जलेर करिब २५ लाख रूपैयाँ तथा सोही ठाउँस्थित नरेश राठी र महेश राठीको घरकोठामा रहेको एसी मेसिन १० थान, झ्यालको पल्ला, ट्वाईलेटको सरसामान जलेर करिब १५ लाख रूपैयाँ गरी जम्मा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागीमा जलेर चार जनाको शुक्रबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया राधा बुढा, राधाकी छोरी ९ वर्षीया मानसी बुढा, सोही ठाउँ बस्ने भरत चन्दका छोरा ७ वर्षीय कृष चन्द र करिब २ वर्षीय कात्तिक चन्द रहेका छन् । भरत चन्दको घरमा आगो ताप्ने क्रममा आगलागी हुँदा उनीहरूको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै आगलागीमा घाइते भएकी १ जनाको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेटरमा गएराति आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिई सोही गाउँपालिका-४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेकोमा हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भई शनिबार साँझ आगलागी हुँदा आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो फैलिएर दल बहादुर भण्डारीको उक्त गोदाम, सँगै जोडिएको टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगत बहादुर बलायरको सुभिक्षादेवी सपिङ सेन्टरको कपडा गोदाम, यसोदा साउदको न्यू सदिक्षा ईन्टरप्राईजेजको गोदाम, गौरी भण्डारीको भण्डारी सु-सेन्टरको गोदाम, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र सारथी अस्पतालमा गरी उक्त रकम बराबरको धनमाल जलेर क्षति भएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिरहा, गोलबजार नगरपालिका-६ राधाकृष्ण मन्दिर टोल बस्ने ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट खटी गएको टोलीले स्थानिय र दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।