अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-०७
- A
- A-
- A+
सुनसरी, इनरूवा नगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा महालक्ष्मी नगरपालिका-९ बस्ने २३ वर्षीय उज्वल मादेन र भोजपुर हतुवागढी गाउँपालिका-५ बस्ने ३२ वर्षीय रोशन राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले को.३८ प २३८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुरबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ एम्पुल, बुप्रेनोर्फिन ७ एम्पुल र प्रोमेथाजाइन ८ एम्पुल सहित सोही उपमहानगरपालिका-१६ रावतगाउँ बस्ने २२ वर्षीय महेश वलीले बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले लु.प्र.०२-००२ प ०३७८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।