अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८३-०४-०८
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-४ लालीगुराँस टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ४ ग्राम सहित दुवही नगरपालिका-१२ बस्ने २१ वर्षीय धन कुमार यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, मिथिला नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ९५ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी घर भएका २८ वर्षीय सन्तोष कुमार महत्तो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, कैलारी गाउँपालिका-५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ भुईयाफाँटा बस्ने २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका-९ पचमुडिया बस्ने २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, मोहन्याल गाउँपालिका-७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय विनोद बिष्ट र लम्कीचुहा नगरपालिका-३ चिसापानी टुक्कीबजार बस्ने कालिकोट रास्कोट नगरपालिका-४ घर भएका २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।