अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-१२
- A
- A-
- A+
कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैयाबाट नियन्त्रित लागूऔषध स्पास्मो ४३ ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित शुक्लाफाँटा नगरपालिका-६ कसरौल बस्ने २५ वर्षीय अनिस रानालाई मंगलाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित सिराहा बिष्णुपुर गाउँपालिका-४ थलाहा बस्ने २० वर्षीय विशाल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको बा.५ ख ३१५८ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कबाड पसल सञ्चालन गरी बस्ने भारत बिहार पश्चिम चम्पारण बेतिया लाल सरैया ग्राम पञ्चायत-३ घर भएका २२ वर्षीय बिशाल कुमारलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ बस्ने २३ वर्षीय प्रेम विकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।