मानव बेचबिखन नियन्त्रणका लागि सबैको एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०४-१२
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय अपराधिक सञ्जालसँग जोडिएको अत्यन्तै गम्भीर विषय भएको उल्लेख गर्दै यसको नियन्त्रणको लागि सुरक्षा तथा न्याय प्रणाली, स्थानीय तह, नागरिक समाज, संचारमाध्यम, निजी क्षेत्र, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिकबीचको सचेतना, सूचना आदानप्रदान, समन्वयात्मक उद्धार तथा अनुसन्धान एवम् अन्तर्राष्ट्रिय सहकार्यमा आधारित एकीकृत र प्रभावकारी प्रयास अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा मंगलबार आयोजित ‘मानव बेचबिखन रोकथाम : सबैको साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस, २०२६ को अवसरमा ‘Trapped Behind the Scam’ भन्ने नाराका साथ नेपाल प्रहरीको आयोजना र माइती नेपालको सहकार्यमा उक्त अन्तरक्रिया आयोजना गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आगामी एक वर्षसम्म मानव बेचबिखन विरूद्धको राष्ट्रिय सचेतना अभियानमा आफ्नो कला, आवाज र लोकप्रियतालाई समर्पित गरी Anti Human Trafficking Awareness को राजदूतको रूपमा सहकार्य गर्नुहुने एवम् हास्यव्यङ्ग्यको माध्यमबाट गम्भीर सामाजिक विषयवस्तुहरूलाई जनमानसमा पुर्याउँदै मानव बेचबिखनको अभियानलाई थप सशक्त एवम् प्रभावकारी बनाउन अमुल्य योगदान पुर्याउनु हुने वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेठ र हरिवंश आचार्यलाई कदरपत्र प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले मानव बेचबिखनलाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र संगठित अन्तर्राष्ट्रिय अपराधको समग्र सन्दर्भमा हेर्नुपर्ने उल्लेख गर्दै बहुपक्षीय सहभागीतामा आयोजित यस अन्तरक्रिया कार्यक्रमले मानव बेचबिखनको बद्लिदो स्वरूपलाई सम्बोधन गर्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीडितको कानुनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयसापेक्ष परिमार्जन गर्दै सूचना संकलन प्रणालीलाई थप विस्तार, सीमा क्षेत्रमा थप निगरानी, जोखिममा रहेका यात्रुहरूको प्रोफाइलिङ तथा ठगी गर्ने म्यानपावर कम्पनी र शैक्षिक कन्सलटेन्सीको आवरणमा मानव तस्करी गर्ने संस्थाहरू माथिको कारबाहीलाई उच्च प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले अन्तरक्रियाबाट प्राप्त सुझाव, निष्कर्ष एवम् पृष्ठपोषणले नेपाल प्रहरीलाई मानव बेचबिखनको बद्लिदो स्वरूप बुझ्न नयाँ दृष्टिकोण, अनुसन्धानका नयाँ आयाम तथा अझ प्रभावकारी कार्यदिशा प्रदान गर्ने उल्लेख गर्दै यसबाट प्रहरी कर्मचारीहरू थप सुसुचित हुने र आगामी दिनमा अझ सशक्त, उत्तरदायी र परिणामुखी अनुसन्धान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अपराधी माथि कठोर कारबाही तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
माइती नेपालका कार्यकारी निर्देशक विश्व राम खड्काले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक दिपक कुमार बस्नेतले स्वागत मन्तव्य तथा वरिष्ठ कलाकार हरि वंश आचार्यले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नकुल पोखरेलले आप्रवासन, मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीको अवधारणा, विद्यमान अवस्था, चुनौती र सुझावहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा माइती नेपाल र नेपाल प्रहरीले तयार पारेको छुट्टाछुट्टै मानव बेचबिखन सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा मानव बेचबिखन नियन्त्रण, अनुसन्धान, पीडित संरक्षण, सुरक्षित वैदेशिक रोजगारी, डिजिटल सुरक्षा, अन्तर्राष्ट्रिय समन्वय, मानव बेचबिखन न्यूनीकरणमा देखिएका समस्या र चुनौती लगायतका विषयमा वृहत्त अन्तरक्रिया एवम् छलफल भएको थियो ।
डिजिटल तथा अनलाइन माध्यमबाट हुने बेचबिखनका जोखिमहरू बारे सचेतना अभिवृद्धि गर्नु, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी संस्था, सञ्चारमाध्यमहरू, निजी क्षेत्र र समुदायबीच समन्वय तथा सहकार्यलाई सुदृढ बनाउनुका साथै युवाहरू, अभिभावक, समुदाय तथा सरोकारवालाहरूलाई सुरक्षित डिजिटल व्यवहार र सचेत निर्णय गर्नका लागि प्रेरित गर्नु यस अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख, वरिष्ठ प्रहरी अधिकृतहरू, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, माइती नेपालका पदाधिकारीहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू, काठमाडौं, ललितपुर र भक्तपुरस्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।