अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०४-१८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-७ कुमारीगाल कुमारीमन्दिर नजिकबाट अवैध लागूऔषध गाँजा ४ सय ग्राम सहित कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने मकवानपुर हैटौंडा उपमहानगरपालिका घर भएका १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बुद्धपथ रोडस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २७ वर्षीय बिजय थापा मगर, सोही नगरपालिका-७ बस्ने २७ वर्षीय रामपुर्ण राना, सोही नगरपालिका-१४ बस्ने १७ वर्षीया किशोरी र रोल्पा लुङग्री गाउँपालिका-६ बस्ने १९ वर्षीय ज्ञानेन्द्र पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, माडी नगरपालिका-३ स्थित बसन्तपुर बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र भोमिन ७९ ट्याब्लेट सहित सोही नगरपालिका-९ गणेशपुञ्ज बस्ने २२ वर्षीय विज्ञान विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९४ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ५२ वर्षीय रविन तामाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-७ स्थित बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रेहान चौधरी र २७ वर्षीय अजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, जोशीपुर गाउँपालिका-१ पिपलकोटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भजनी नगरपालिका-८ खैरा बस्ने २७ वर्षीय किरण चौधरी र सोही नगरपालिका-६ थापापुर बस्ने १८ वर्षीय किशोरलाई ८ सय ३० मिलिग्राम तथा सु.प.प्र. १-०११ प ५०५० नम्बरको मोटरसाइकलमा सवार जानकी गाउँपालिका-४ कञ्चनपुर बस्ने २२ वर्षीय रूपेश खठरिया र से.५ प ६१६९ नम्बरको मोटरसाइकलाम सवार २४ वर्षीय श्याम खठरियालाई ५ ग्राम ८ सय मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ गोलघरबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २० ट्याब्लेट सहित जनकपुरधाम उपमहानगरपालिका-१९ बस्ने २१ वर्षीय संजय मण्डललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले स. ८ प ४७८२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।