अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०४-१९
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ९० मिलिग्राम सहित सिराहा मिर्चैया नगरपालिका-५ घर भएका २० वर्षीय सन्देश यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०५-००१ ज ००८६ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उक्त लागूऔषध कारोबारमा संलग्न रहेका बा.प्र.०२-०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषा कमला नगरपालिका-७ घर भएका २० वर्षीय राहुल कुमार मण्डल र सिराहा कल्याणपुर नगरपालिका-६ घर भएका २० वर्षीय अभिषेक कुमार साहलाई समेत पक्राउ गरेको छ ।
यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ३० ट्याब्लेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका-१७ बस्ने २४ वर्षीय सागर कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ३७१२ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।