अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८३-०४-२०
- A
- A-
- A+
काठमाडौं, काठमाडौं मित्रनगरस्थित गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन ४३ ग्राम, डिजिटल तराजु २ थान, मोबाइल ११ थान र नगद ५० हजार रूपैयाँ सहित ३ जनालाई साउन १४ गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-७ घर भएका ३४ वर्षीय हित बहादुर बस्नेत, सप्तरी राजगढ गाउँपालिका-७ घर भएका १९ वर्षीय रामकृष्ण शर्मा र धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका २१ वर्षीय धनन्जय पासवान रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भुजाको बोरामा लागूऔषध लुकाई छिपाई सप्तरीबाट काठमाडौं आउने हायसमा पठाई मोटरसाइकलबाट निगरानी गर्दै काठमाडौं सम्म ल्याउने गरेको, काठमाडौंमा लागूऔषध माग गर्ने व्यक्तिहरूलाई इनड्राइभ मार्फत रकम पठाउन लगाई रकम प्राप्त गरे पश्चात फेरी अर्को इनड्राइभ बुक गरी लागूऔषध डेलिभरी गर्ने गरेको खुल्न आएको छ ।
बर्दिया, बाँसगढी नगरपालिका-५ मैनापोखर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय किरण नेपाली र ३६ वर्षीय सतिराम थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले दमौलीबाट बासगढीतर्फ आउँदै गरेको भे.५ प २०३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-९ दुधे बस्ने काभ्रे रोशी गाउँपालिका-१२ घर भएका ३० वर्षीय बिराज भुजेललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।