उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०५-०४
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदायस्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बिहीबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भाव खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रविधिमैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले विपद् तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरोकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले समयसापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । आ-आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखि शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी बहन गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो । सेवाग्राहीहरूको सुविधालाई ध्यान दिँदै कार्यालयको भौतिक संरचनाको उचित व्यवस्थापन, कार्यालय परिसरको नियमित सरसफाई तथा सवारी साधनहरूको उचित मर्मत संभारमा समेत विशेष जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।