अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८३-०५-१२
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ७० ट्याब्लेट र नाइट्राजेपाम ८ ट्याब्लेट सहित बारा निजगढ नगरपालिका-७ घर भएका २८ वर्षीय मान बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहट चपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ८२६० नम्बरको सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-७ भाजंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र नगद २९ हजार ५ सय ५५ रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने कैलाली गोदावरी नगरपालिका-८ घर भएका २८ वर्षीय रोशन मायालु सिंह भाटलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ मानेडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ५० मिलिग्राम र तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१७ हटिया घर भएका ३४ वर्षीय संजय रोक्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगर समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१३ डुमरगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम र नगद ६ हजार ४ सय ५ रूपैयाँ सहित सोही ठाउँ बस्ने रूकुम पूर्व भुमे गाउँपालिका-७ घर भएका २२ वर्षीय गजेन्द्र जंग सुनारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.२ प ४९८९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम फेला प्रहरीले बरामद गरेको छ ।
रूपन्देही, मायादेवी गाउँपालिका-३ कम्हरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय वाल मुकुन्द हरिजनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, पाख्रिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम र ट्रामाडोल ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेत रहेका छन् । इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।