राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न
२०८३-०६-०५
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक २०८३ सम्पन्न भएको छ ।
नेपाल प्रहरीको रणनीतिक योजना, २०८३-२०८५ मा परिकल्पना गरिएको ‘Smart Policing, Safer Community’ भन्ने मूल भावनालाई व्यवहारमा उतार्न काठमाडौं उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान र मानवस्रोत व्यवस्थापनमा आधारित रही प्रभावकारी प्रहरी सेवा प्रवाह, उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका सम्बन्धमा गहन विमर्श, अन्तरक्रिया तथा अनुभव आदान प्रदान गर्न यस समीक्षा बैठकको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपद्जन्य परिस्थितिबाट गुज्रिरहेको यस संवेदनशील समयमा बाढीपहिरो तथा विपद् उद्दार कार्यमा कर्तव्य निर्वाह गर्ने क्रममा जीवन गुमाउनु भएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूले गर्नुभएको बलिदान, त्याग र साहस सबै प्रहरी कर्मचारीहरूका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले बैठकमा उठेका विषयहरूलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, देखिएका कमी-कमजोरीहरूलाई सुधार गरी आगामी दिशा तय गर्ने तथा केन्द्र र प्रदेशबीच एकरूपता कायम गरी वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकता बीच स्पष्ट सम्बन्ध स्थापना गर्ने मञ्चको रूपमा समीक्षा बैठकलाई स्थापित गर्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले अपराधको प्रवृत्ति बुझेर जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी, वैज्ञानिक र समयसापेक्ष अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन र आन्तरिक उत्तरदायित्व तथा नागरिकसँगको विश्वास र साझेदारीलाई प्राथमिकतामा राखी भावी कार्यदिशा तय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । आफ्नो जिम्मेवारी क्षेत्रको सामाजिक, धार्मिक, राजनीतिक र आर्थिक परिवेशहरूको मुल्याङ्कन गरी भरपर्दो सूचना संकलनको माध्यमबाट एकीकृत सुरक्षा योजना बनाई सक्रियताका साथ कार्यसम्पादन गर्नुका साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हकमा अझ संवेदनशील भई कार्य गर्न उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानव स्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौतीहरू तथा समाधानका उपायहरू, नेपाल प्रहरी रणनीति योजना कार्यान्वयनको अवस्था र भावी योजना लगायतका विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले आ.व. २०८२/०८३ को कार्यसम्पादन करारको वार्षिक प्रगतिको समीक्षाका साथै कार्यसम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीहरूका साथै सुधारका क्षेत्रहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो ।
सो अवसरमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोगमा जोड, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक र प्रभावकारी अनुसन्धान, वर्तमान अवस्थामा देखिएका सुरक्षा चुनौतीहरू तथा सामना गर्न अपनाइएका उपायहरू र विपद् व्यवस्थापनको विषयहरूमा छलफल भएको थियो । साथै विगतको अनुभव र असल अभ्यासको आदान प्रदान मार्फत प्रहरी सेवामा सुधार गर्दै समग्र संगठनात्मक सुधारका बारेमा समेत वृहत छलफल तथा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।