नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०७-११
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालन गर्नुका साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी सवारी साधनको यान्त्रिक चेकजाँच, लापसे, मापसे, ओभरलोड लगायतको गतिविधि नियन्त्रणमा विशेष जोड दिँदै यात्रुहरूको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको साथसाथै ट्राफिक नियम सम्बन्धी चेतनामुलक सन्देश समेत प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । चाडपर्वको समयमा जुवातास, पटका लगायतका विष्फोटक पदार्थको कारोबार तथा सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीहरू अझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटी नहुने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै उक्त प्रतियोगिता अवधिमा हुनसक्ने अनलाइन बेटिङ लगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो । आगामी बिहीबार देखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सम्भावित जोखिम स्थलहरूको पहिचान गरी उच्च सतर्कता अपनाई पूर्वतयारी सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ट नागरिकहरू विरूद्ध हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समेत संवेदनशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरू सामुहिक भावनाका साथ प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ-आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउँदै आफू मातहतका सबै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्न थप नवीनतम् कार्ययोजना ल्याउन समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरूले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।