प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

२०७९-०१-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेमा उहाँले जोड दिनुभएको छ ।

  नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो ।

आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभयो । 

कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सुक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’ 

नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समाज र राष्ट्रको हित र सुरक्षाका खाँतिर संगठन र यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ-आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न सम्पूर्ण अधिकृत तथा जवानहरूलाई उहाँले निर्देशन दिनुभयो । 

गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन ।’ भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने उहाँले बताउनुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

बारा, जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१२ बस्ने ३४ वर्षीय भिम बहादुर तामाङ र १७ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, बिजयनगर गाउँपालिका-१ गुगौलीबाट सोही गाउँपालिका-२ पडेरीया बस्ने २२ वर्षीय राम अजोर यादवलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले पैदल आइरहेका राम अजोरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट लम्कीचुहा नगरपालिका-४ बलिया बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध १ सय २२ ट्याब्लेट नाईट्राभेट र १ सय ३० मिलिग्राम लागूऔषध खैरो हेटोईन जस्तो देखिने पदार्थ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७

धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र १ ग्राम ३ सय ७० मिलिग्राम अवैध लागूऔषध चुना जस्तो देखिने पदार्थ सहित सप्तरी खडक नगरपालिका-८ बस्ने २४ वर्षीया रजनी कुमारी चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बोकी केही मानिसहरू हिँडिरहेको सूचानाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सिरहा मिर्चैया नगरपालिका-२ बस्ने ३० वर्षीय मो.आरिफ हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ७ ग्राम १ सय ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काभ्रे खानिखोला गाउँपालिका-२ बस्ने २५ वर्षीय कृष्ण थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०१-००५ ख ९६५४ नम्बरको हाईसमा सवार उनलाई  जाँच गर्ने क्रममा चुरोटको खाली बट्टाभित्र ल्याएको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०७९-०३-१७

कास्की, पोखरा महानगरपालिका-१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १ सय ८० रूपैयाँ नगद सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बो सहित ४ जना रहेका छन् । उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाईल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गर्ने पक्राउ
२०७९-०३-१७

काठमाडौं, सिम कार्ड डुप्लिकेशन गरी रकम ठगी गरेको अभियोगमा मकवानपुर हेडौंडा उपमहानगरपालिका-१७ ठेगाना भएका ४१ वर्षीय गोपी बजगाईलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक संजाल फेसबुक तथा व्याटसएपमा बैदेशिक रोजगारको लागि पोर्चुगल लैजान ११ लाख रुपैयाँ लाग्छ भन्दै पीडित व्यक्तिहरुको सक्कल राहदानी, नागरिकता, सम्पत्ति बिबरण कागज समेत लिई झुक्याई पीडितको नागरिकताबाट सिमकार्ड समेत अर्को निकाली बैंक खाता समेतमा पहुँच राखी मोवाइल बैकिङ्ग सेवा बनाई बैंक खातामा रहेको रकम निकाली ठगी गर्ने कार्यमा संलग्न रहेका उनलाई काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको   हो ।  उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।