प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

२०७९-०३-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ ।  

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनियता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न निर्देशन दिनुभयो । भवन निर्माणमा मितव्ययिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बि.सी. र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

सम्बन्धित समाचार
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
२०८०-०२-१८

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
२०८०-०२-१८

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।