प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

२०७९-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गर्नुभयो । 

गृहमन्त्री खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादन मुलक बनाउन योग प्रभावकरी सिद्ध भएको उल्लेख गर्नुभयो । 

गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधहरूको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी वहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरूको तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहने विचार व्यक्त गर्नुभयो । योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘योग एवम् आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो ।’ 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्धत गर्ने बताउनुभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सकारात्मक सोँचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’  

 ‘मानवताको लागि योग’ भन्ने नाराका साथ जुन २१ मा विश्वभर आठौं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा योगको बारेमा चेतना अभिवृद्धि गर्न कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी पेशामा योगको महत्वलाई मध्यनजर गरी नेपाल प्रहरीका विभिन्न तालिम पाठ्यक्रममा योगलाई समेत समावेश गरिएको बताउनुभयो ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्री बालकृष्ण खाणलाई कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो । साथै उहाँले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र र समितिका युवा संयोजक लोक नाथ खनाललाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । 

पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग पिठका ट्रष्टि शालिक राम सिंहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनुका साथै पतंजली सेवा श्रमका बालबालिकाहरूले विशेष प्रस्तुती गरेका थिए । 

नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा पतंजली योग समिति नेपालले संचालन गरेको शिविर तथा उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथि लगायत गृह सचिव टेकनारायण पाण्डे, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, गृहमन्त्रालयका सहसचिव, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।




सम्बन्धित समाचार
फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२६

काठमाडौं, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।  उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०२-२६

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान  र बाघको  हड्डी जस्तो देखिने वस्तु ८  केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने  ३१ वर्षीय बीर  बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२६

काठमाडौं, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सबिन थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने २६ वर्षीय निनु तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले धादिङदेखि काठमाडौं आउँदै गरेको बा.६३ प ४९४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ घर भई कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २६ वर्षीय करन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२६

काठमाडौं, काठमाडौं महानगरपालिका-३ स्थित घरमा डेरा गरी बस्ने झापा, झापा गाउँपालिका-४ घर भएका २६ वर्षीय निरोज थापालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डेरा कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही कोठामा रहेका अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  मोरङ,  विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ९८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय दिनेश भुजेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३प ३१३२ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईबाट इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम समापन
२०८०-०२-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित तेस्रो समूहको इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट (एससिएम) तालिमको निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमवीच समापन भएको छ ।कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक राईले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस तालिमले प्रशिक्षार्थीहरूलाई रणनीति निर्माण, नेतृत्व क्षमता एवम् व्यवस्थापनका क्षेत्रमा थप दक्षता हासिल भएको विचार व्यक्त गर्नुभयो । यस्ता तालिमलाई समयानुकूल परिवर्तन र परिमार्जन गदै लैजाने उल्लेख गर्दै उहाँले संगठनको उद्देश्य एवम् लक्ष्य हासिल गर्नलाई तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।तालिम संयोजक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक केदार ढकालले प्रशिक्षार्थीहरूकोतर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सम्बन्धि गतिविधि समेटेर तयार पारिएको भिडियो समेत प्रस्तुतीकरण गरिएको थियो । यही जेठ १ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव महानिरीक्षक ५ जना र प्रहरी वरिष्ठ उपरीक्षक १० जना गरी कुल १५ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।