प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण तथा निर्देशन

२०७९-०३-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको   छ । सो क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गर्नुभयो ।

साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गर्नुभयो । 

निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने तथा यस गहन जिम्मेवारी बोकेका प्रशिक्षकले सदैव उत्प्रेरित भएर प्रशिक्षणमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै उहाँले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहार लगायतका तत्वहरू हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरीका तालिम प्रदायक संस्थामध्ये प्रतिष्ठान मेरूदण्ड भएको र प्रतिष्ठानले अवलम्बन गरेका असल अभ्यास अन्य संस्थाको लागि अनुकरणीय हुने भएकोले प्रतिष्ठानको गतिविधि सदैव नमूना हुन जरूरी रहेको उहाँले चर्चा गर्नुभयो । 

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक रबिन्द्र नाथ पौडेलले प्रतिष्ठानको गतिविधि, चुनौती र अपेक्षा सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
फेसबुकमा लोन सेवा नाम पेज बनाई रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-२६

काठमाडौं, फेसबुकमा घर जग्जा लोन सेवा नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-३ बसुन्धारा बस्ने नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भन्ने २७ वर्षीय रामचन्द्र चालिसेलाई प्रहरीले पक्राउ गरेको छ ।  उनले फेसबुकमा २०७९ फागुन ११ गतेदेखि घर जग्गा लेन सेवा पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिई अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोली खाताको चेक दिई ठगी गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०२-२६

दाङ, लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान  र बाघको  हड्डी जस्तो देखिने वस्तु ८  केजी ४ सय ३० ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने  ३१ वर्षीय बीर  बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।  विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२६

काठमाडौं, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सबिन थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने २६ वर्षीय निनु तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले धादिङदेखि काठमाडौं आउँदै गरेको बा.६३ प ४९४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ घर भई कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २६ वर्षीय करन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२६

काठमाडौं, काठमाडौं महानगरपालिका-३ स्थित घरमा डेरा गरी बस्ने झापा, झापा गाउँपालिका-४ घर भएका २६ वर्षीय निरोज थापालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डेरा कोठामा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही कोठामा रहेका अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  मोरङ,  विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ९८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय दिनेश भुजेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३३प ३१३२ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईबाट इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट तालिम समापन
२०८०-०२-२५

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित तेस्रो समूहको इस्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट (एससिएम) तालिमको निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रमवीच समापन भएको छ ।कार्यक्रममा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक राईले सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस तालिमले प्रशिक्षार्थीहरूलाई रणनीति निर्माण, नेतृत्व क्षमता एवम् व्यवस्थापनका क्षेत्रमा थप दक्षता हासिल भएको विचार व्यक्त गर्नुभयो । यस्ता तालिमलाई समयानुकूल परिवर्तन र परिमार्जन गदै लैजाने उल्लेख गर्दै उहाँले संगठनको उद्देश्य एवम् लक्ष्य हासिल गर्नलाई तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।तालिम संयोजक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक केदार ढकालले प्रशिक्षार्थीहरूकोतर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो भने तालिम सम्बन्धि गतिविधि समेटेर तयार पारिएको भिडियो समेत प्रस्तुतीकरण गरिएको थियो । यही जेठ १ गतेबाट संचालित उक्त तालिममा प्रहरी नायव महानिरीक्षक ५ जना र प्रहरी वरिष्ठ उपरीक्षक १० जना गरी कुल १५ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।