प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१७ जना प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-०३-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने बताउनुभयो । साथै उहाँले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उहाँले बताउनुभयो ।

साथै प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गर्नुभएकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।   

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले  कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।




सम्बन्धित समाचार
नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्ने : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०२-१६

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले आफ्नो आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै उक्त कुरा बताउनुभएको हो ।   नेपाल सरकार र प्रहरी संगठनको नीतिका साथै संगठनको आन्तरिक सुदृढिकरणलाई प्रमुख एजेण्डा मानेर अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थ भन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारवाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।’   प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजश्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखहरूले आ-आफ्नो मातहत कार्यालयहरुको सुपरीवेक्षण तथा अनुगमन गर्न समेत निर्देशन दिनुभयो । नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप संचालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायतका प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-१६

मकवानपुर, गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागूऔषध गाँजा करिब ९ सय २० ग्रामसहित हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, छिपहरमाई गाउँपालिका-५ ब्रहम चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ५ सय एम्पुल, डाइजेपाम ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुलसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा भिमेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीय दुर्गाराज खत्री र पर्सा धोबिनी गाउँपालिका-४ लंगडी बस्ने ४५ वर्षीय नुरेश मियाँ तेली रहेका    छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भिस्वाबाट खटिएको प्रहरीले बगमती प्रदेश-०३-००१ ख १८१० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी बसका चालक दुर्गाराज र सहचालक नुरेश मियाँलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८०-०२-१५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१० लिक मार्गस्थित जस्ताको टहरोमा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ निशिखोला गाउँपालिका-१ घर भएका ५२ वर्षीय सुर्ज बहादुर भण्डारी समेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-१ हल्दार चोक नजिक लिम्बु होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय भिम योगी समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ बुद्धमार्गस्थित याङनाम होटलमा जुवातास खेलिरहेको अवस्थामा फिदिम नगरपालिका-१ बस्ने ३६ वर्षीय गजेन्द्र थामसुहाङ समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।