प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको   थियो । 

निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिकिकरण गर्नुभयो ।  

नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने उद्देश्यले गरिएको अध्ययनले कार्य वातावरण, कार्य सन्तुष्टि, कार्य उत्प्रेरणा र कार्य सम्पादनलाई एक अर्काको परिपूरकको रूपमा अन्तर सम्बन्धीत रहेको देखिएको उक्त प्रतिवेदनमा देशभरबाट विभिन्न जिल्लामा कार्यरत १ हजार ३ सय ८६ जना नेपाल प्रहरीका जुनियर प्रहरी अधिकृतहरूमा सर्वेक्षण, गहन अन्तरवार्ता तथा सुपरिवेक्षक तहका प्रहरी कर्मचारीहरूसँग लक्षित छलफलको माध्यमबाट परिमाणात्मक र गुणात्मक दुवै किसिमका तथ्याङक विश्लेषण गरी प्रतिवेदन तयार पारिएको छ । यसैगरी नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक अध्ययन प्रतिवेदनमा देशभरबाट कक्षा १० देखि स्नातक तह सम्म अध्ययनरत १ हजार ३ सय ६१ जनालाई सहभागी गराई प्रहरीको काम कर्तव्यप्रति युवाको धारणा र सेवाप्रति युवाहरूको आकर्षणका सम्बन्धमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको थियो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले जस्तो सुकै विषम परिस्थितिमा पनि किन्चित विचलित नभई अहोरात्र जनताको सेवामा खटिई देशको आन्तरिक शान्ति सुब्यवस्था कायम गर्नुको साथै अपराधको रोकथाम तथा नियन्त्रण र अपराध अनुसन्धानमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आईरहेको चर्चा गर्नुभयो ।  संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरु र बहालवाला प्रहरी अधिकृत तथा जवानहरु प्रति समेत उहाँले सम्मान प्रकट गर्नुभयो । 

संगठनको बिकास र बिस्तार तथा प्रहरी कर्मचारीहरुको बृत्ति विकास गर्ने कार्यलाई प्राथमिकता दिईने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘आवश्यकतानुसारको प्रहरी कार्यलयहरुको भौतिक संरचनाहरु छैनन, तल्लो तहका प्रहरी कर्मचारीहरु  ब्यारेकमा कष्ट पुर्ण तरिकाले सुत्नु परेको अवस्था छ, प्रहरी प्रधान कार्यलयमा कार्यरत कर्मचारीहरुको लागि आवास गृह छैन, स्केलमा पाउनु पर्ने सामानहरु समयमा तोकिए बमोजिम पाउन नसकेको अवस्था छ र महङ्गी अनुसारको राशनको व्यवस्था नहुने अवस्थाको अव अन्त गरिनु पर्छ ।’ प्रविधिको विकास संगै त्यसको दुरुपयोगबाट श्रृजित अपराधको अनुसन्धानको चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई मजबुद बनाउन आवश्यक प्रविधिको विकास प्राथमिकता रहेको उहाँले बताउनुहुँदै प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरणको श्रृजना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो ।  

नागरिकको अपेक्षा अनुरुपको चुस्त दुरुस्त सेवा प्रवाह गर्न गराउन उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दी बिरुद्ध निर्मम भएर प्रहरी कारवाही गर्न विशेष निर्देशन दिँदै उहाँले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पुर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सन्दर्भमा अझ बढी संबेदनशिल भएर सोही अनुसार सेवा प्रवाह गर्न समेत उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले कानून कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानूनले दिएको अधिकार निश्चिन्त भइ प्रयोग गर्न सवै प्रहरी कर्मचारीहरू दत्त चित्त भइ आ-आफ्नो ठाउँबाट इमान्दार भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सरुवा, बढुवा र बृत्ति विकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मुल्यांकनको आधारमा बढुवा र सरुवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने समेत उहाँले उल्लेख  गर्नुभयो ।  

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । संगठनले प्राप्त गरेको तालुक गृह मन्त्रालयको वर्तमान नेतृत्वबाट आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास व्यक्त गर्दै  संगठनको नीति अनुरूप कार्य सम्पादनको मूल्याङकनको आधारमा सरूवा, बढुवा पारदर्शी रूपमा हुने एवम् प्रहरी अधिकृतहरूको सरूवा उनीहरूको व्यावसायिकता तथा दक्षताको आधारमा गरिएको बताउनुभयो । 

निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्तको जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा सम्बन्धी अनुसन्धानको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालय, गण प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको   थियो ।


सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित ११ जना पक्राउ
२०७९-१२-०८

 मकवानपुर, थाहा नगरपालिका-८ चौतराबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजीसहित सोही ठाउँ बस्ने ५७ वर्षीय लाल बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनकै भाइ शेर बहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा पारी प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गरिरहेको  छ ।   दाङ, गढवा गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौलासमेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ रहेको खाली घरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-११ बस्ने २० वर्षीय बिनायक शर्मा र २३ वर्षीय अमर कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७६२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५० मिलिग्रामसहित  २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय मोहन श्रेष्ठ र तेह्रथुम लालीगुँरास नगरपालिका-७ बस्ने २८ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले शंका लागि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६३ ट्याव्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २४ वर्षीय संजय कुमार स्याङतानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख ७९४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०७९-१२-०८

 झापा, दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङ, गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सिरहा,  धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।