प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्‍कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उहाँले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो ।

नेपाल सरकारले अंगिकार गरेको समृद्धि सहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू बिकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । मानवअधिकारसम्बन्धी ज्ञानलगायत भिड नियन्त्रणमा प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
प्रतिबन्धित भारतीय रूपैयाँ सहित पक्राउ
२०७९-१०-२३

काठमाडौं, नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजार सहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक  उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स प्रस्थान
२०७९-१०-२३

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।   प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२३

सुनसरी, धरान उपमहानगरपालिका-१७ चतरा मार्गबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ८० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने ३२ वर्षीय योगराज राई र ३४ वर्षीय दुर्गा राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले को.१४ प ९३४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध वनरेक्स एकसय एमएलको ३ सय ५८ बोतल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका-१ बिसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुव असरफ र वीरगञ्ज महानगरपालिका-२ छप्कैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् । वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले ना.२ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाई छिपाइ ल्याएको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०७९-१०-२२

झापा, आफ्नै श्रीमती ४५ वर्षीया कल्पना पोखरेल (बस्नेत)को हत्या गरेको अभियोगमा उदयपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका-८ नयाँखसी बजार बस्ने ३३ वर्षीय मनोज बस्नेतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कर्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा बस्नेतले कल्पनालाई ४ दिन अगाडी आफ्नै घरमा हत्या गरी आफ्नै घरदेखि करिब २ सय मिटर टाढा खाली चौरमा खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न हातहतियार सहित पक्राउ
२०७९-१०-२२

धनुषा, जनकपुर उपमहानगरपालिका-१ बस्ने ४१ वर्षीय दिलिप साहलाई कटुवा पेस्तोल १ थान, म्यागनममा लाग्ने गोली १ थान  र सोको खोका १ थान र ३०३ राईफलमा लाग्ने गोली ४ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उनी उपर मिटर ब्याज सम्बन्धी उजूरी परेपछि थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको घर तथा पसलमा तलासी गर्दा उक्त हतियार र पीडितको नाममा जग्गा रोका रहेको फारम ५ थान, कपाली तमसुक १५ थान र रकम उल्लेख नगरी दस्तखत भएको चेक १ थान समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।