अवैध लागूऔषधसहित पक्राउ
२०७९-१०-०८
- A
- A-
- A+
पर्सा, बिन्दबासिनी गाउँपालिका-५ प्रसौनिभाटाबाट अवैध लागूऔषध गाँजा १ केजी ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३५ वर्षीय मनोज पटेल र पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ बलुवा बस्ने १९ वर्षीया निर्मला कुमारी पटेल रहेका छन् । ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले प्र.२-०३-००१-प.२३८९ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरूले उक्त लागूऔषध सखुवाप्रसोनी गाउँपालिका-५ बलुवा बस्ने मनोजको सुसरा बृजलाल पटेलको घरबाट लिई आएको खुल्न आएपछि उनको घर तलासी गर्दा थप १ केजी २ सय ५० ग्राम लागूऔषध गाँजा फेला परेको छ । साथै अनुसन्धानको लागि मनोजकी सासु आमा माया देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-१ उखुडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी १ सय ग्रामसहित शहिदभूमि गाउँपालिका-१ बस्ने ३२ वर्षीय सुरज राई समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ख २८३३ नम्बरको बस जाँच गर्ने क्रममा सवार सुरज समेत २ जनाको साथबाट १ सय ग्राम लागूऔषध गाँजा फेला पारेको हो । साथै सोही बसको हुट र डिक्कीमा लुकाई छिपाई राखिएको ४० केजी लागूऔषध गाँजा फेला पारी बसका चालक र २ जना सहचालकलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५० केजीसहित धनकुटा शहिदभूमि गाउँपालिका-४ बस्ने ४४ वर्षीय यज्ञ प्रसाद राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-१ सूर्यपुरबाट नियन्त्रित लागूऔषध ट्रामा ७ हजार ६ सय ८० पिस र एनार्गन १ हजार ९ सय ४५ पिससहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २३ वर्षीय आयुष खनाल र २४ वर्षीय निर्मल तिमल्सिना रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले ना.४४ प ८२६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागूऔध गाँजा करिब ४ केजी सहित धुनिबेसी नगरपालिका-३ बस्ने २३ वर्षीय निश्चल पुरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।