प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो । 

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७९’ को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान  र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो । वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पिजिडिपिएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उहाँले अब छिट्टै ‘मास्टर ईन पुलिस साइन्स’ कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समय अनुकूल प्रशिक्षार्थीहरुको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उहाँले निर्देशन समेत दिनुभयो ।  

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले सीमित स्रोत साधनका बावजुद प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधारको विकास, प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षण विकास योजना, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वार्षिकोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, लाइभ म्युजिक विथ डान्स तथा सांगीतिक धुन समेत प्रस्तुत भएको थियो ।

समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध रुपमा लुकाई छिपाई लैजान लागेका अमेरिकी डलरसहित पक्राउ
२०८०-०२-१९

 काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा बाह्यय मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको ८ हजार ७ सय अमेरिकी डलरसहित धनुषा जनकपुर उपमहानगरपालिका-१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोष कुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट बैङलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।  

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही नेपाल प्रहरीका कर्मचारी सम्मानित
२०८०-०२-१९

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्‍मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गर्नुभयो । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ ।  समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रण लगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलता पूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उहाँले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।  सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक वहन गरी आफूलाई रूपान्तरण गर्ने संकल्प गर्न उहाँले अनुरोध गर्नुभयो ।   सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । साथै उहाँले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामहरूले प्रहरी समक्ष ल्याएका थप चुनौतीहरूको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख    गर्नुभयो । नेपाल प्रहरीको उपस्थितिले विश्वभरिका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवम् अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आरोहणको लागि सहयोग पुर्‍याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायत अन्य संघ संस्था तथा सरोकारवाला निकायप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य तथा इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिनुभएको उक्त समारोहमा वि.सं. २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने ९ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले आरोहण गर्दाको आ-आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा आरोहण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो ।  सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवहरू, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवम् पर्यटन तथा आरोहणसँग सम्बन्धित संघ संस्थाका आमान्त्रित अतिथिहरू लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
२०८०-०२-१९

काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् । काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।