छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०७९-११-१९
- A
- A-
- A+
झापा, झापा मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-९ झण्डहवाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ टाउके बजारस्थित नेपाल भारत सिमा नाकाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका-६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-६ खैरधारीबाट अवैध लागूऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय नरमान घिसिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।