अवैध लागूऔषधसहित नौ जना पक्राउ
२०७९-११-२६
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन् । सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।