प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  

प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । 

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।  

  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध गाँजासहित पक्राउ
२०८०-०२-२३

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्रामसहित मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूलाई बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ
२०८०-०२-२३

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय बिकाश लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ स्थित केशल्या पुलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेन राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहनगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र  २४ वर्षीय गणेश राना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय भिम बहादुर सिजालीसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।