प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताउनुभएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो ।

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका  निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उहाँले बताउनुभयो । 

नेपाल प्रहरी नागरिक प्रशासनको सबै भन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताउनुभयो । 

  क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’ 

गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै उहाँले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाईमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गर्नुभयो । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाईका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।


  

सम्बन्धित समाचार
अवैध लागूऔषध गाँजासहित पक्राउ
२०८०-०२-२३

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-२ बाडभञ्जाङबाट अवैध लागूऔषध गाँजाको धुलो २ किलोग्रामसहित धादिङ गजुरी  गाउँपालिका-८ बस्ने २६ वर्षीय सुरेश तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०२-०४१ प ५६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजाको धुलोसहित फेला पारी पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १३ किलो ५ सय ग्रामसहित मोरङ कानेपोखरी गाउँपालिका-४ बयरबन बस्ने २४ वर्षीय सम्राट चौधरी थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेका ग.१ ख ८६१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार थारूलाई बोरामा लुकाई ल्याएको उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट आठ जना पक्राउ
२०८०-०२-२३

मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय बिकाश लिम्बु समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी मोरङ, बेलबारी नगरपालिका-११ स्थित केशल्या पुलबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम, ट्रमाडोल ५ पिस र स्पासपेन १२ पिससहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेन राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहनगरपालिका-१३ राजपुर गाउँबाट अवैध लागूऔषध खैरो हेरोईन करिब २ ग्राम ४० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३७ वर्षीय जियाराम राना र  २४ वर्षीय गणेश राना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले जियाराम रानाको घर तलासी गर्दा ४३ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.२ प ११८८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ४ सय ६० मिलिग्रामसहित कैलाली गौरीगंगा नगरपालिका-२ बस्ने २४ वर्षीय भिम बहादुर सिजालीसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००८ प ३९०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

राजश्व छलि ल्याउँदै गरेका सामानसहित दुई जना पक्राउ
२०८०-०२-२२

ललितपुर, ललितपुर महानगरपालिका-२६ चिवहालबाट राजश्व छलि ल्याउँदै गरेका करिब २० लाख ७३ हजार ५ सय ९० रूपैयाँ बराबरको विभिन्न अवैध सामानसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१४ डुम्बरवाना बस्ने ३४ वर्षीय दिपक प्रसाद लामिछाने र भारत बिहार राज्य मोतिहारी छतौनी ग्राम पञ्चायत-११ बस्ने २८ वर्षीय सचिन कुमार चौरासिया रहेका छन् । प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले बागमती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु र कत्था गरी उक्त रुपैयाँ बराबरको सामान, अन्य ब्यक्तिको नामको म्याद गुज्रिएको प्रेस पास ३ थान र उक्त गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ ।