नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८०-०१-०८
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आ.व. २०७९/०८० को वार्षिक तालिम क्यालेण्डरको अर्धवार्षिक समीक्षा तथा चालु आ.व. २०८०/८१ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी गोष्ठी शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समापन भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले तालिम केन्द्रले प्रदान गर्ने तालिमहरू कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू हुने गरी प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण गर्नुपर्ने बताउनुभयो । संख्यात्मक भन्दा पनि गुणात्मक तालिम प्रदान गर्नेतर्फ सबै तालिम केन्द्रहरू अग्रसर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले तालिममा प्राप्त गरेका ज्ञान, सिप, गौशललाई अक्षरस व्यवहारमा लागू गर्दै मनोवृत्तिगत परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउदै प्रशिक्षणमा योग्य भएका प्रशिक्षकहरूमार्फत संगठनमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने, संगठनमा सकारात्मक छवि कायम हुने तथा प्रभावकारी प्रहरी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । तालिम केन्द्रहरूले क्षमता विकास गर्ने गरी गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्नेमा जोड दिँदै सबै तालिम प्रदायक संस्थाहरूले एकरुपता कायम गर्दै नेपाल प्रहरी तालिम संचालन कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीहरू सामूहिक रूपमा काम गर्दै सरकार र प्रहरी संगठनले लिएको लक्ष्य प्राप्तिका लागि अझ अबल र समयसापेक्षरूपमा परिवर्तित भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण तालिम प्रदायक निकायहरूको अनुगमन तथा सुपरीवेक्षण गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सदैव अभिभावकीय रूपमा परिचालन हुँदै तालिम केन्द्रहरूलाई रिसर्च सेन्टरका रुपमासमेत विकास गर्न सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी महानिरीक्षकज्यूबाट तालिमका बारेमा प्राप्त निर्देशनहरूलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने बताउनुभयो । तालिमलाई वृत्ति विकासको रुपमा मात्र नलिई यसलाई राष्ट्र र संगठनको आवश्यकताको रूपमा लिएर राष्ट्र र संगठनको लक्ष्य प्राप्तितर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । संगठनको आवश्यकता अनुसार तालिम क्यालेण्डर तयार पारिएको उहाँले उल्लेख गर्नुभयो । विभिन्न तालिम दिने निकायहरूसँग सहकार्य र समन्वय गर्दै समयसापेक्ष तालिम पाठयक्रमहरूलाई थप व्यवस्थित र परिवर्तन गर्दै लैजाने प्रहरी अतिरिक्त महानिरीक्षक राईले जानकारी दिनुभयो ।
प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक बसन्त रजौरेले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरु समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूसँग घनीभूत छलफल भएको थियो ।
गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।