अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १२ जना पक्राउ
२०८०-०२-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाईन्टबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ८० ग्राम र गाँजा ७० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट बेलकोट गाउँपालिका-९ बस्ने ३८ वर्षीय उत्सब सापकोटा र कैलाली धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २० वर्षीय मोहित सोडारी रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.०३-०१-०२३ च ०७३० नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-१ वरीया खोलाबाट अवैध लागूऔषध अवैध लागूऔषध गाँजा करिब ७ केजीसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले प्रदेश-०३००५ प ४४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । भोजपुर, भोजपुर नगरपालिका घर भई हाल टेम्केमैयुङ गाउँपालिका-३ डेरा गरी बस्ने ३८ वर्षीय सन्तोष बराईलीलाई अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्रामसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा लागू औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउस्थित आयल मोसा ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ग्यारेज संचालक सोही नगरपालिका-९ सलकपुर बस्ने २६ वर्षीय महमद ईस्लाम र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय महेश ठाकुर रहेका छन् । ग्यारेजमा लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१ पलार टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित सर्लाही पर्सा गाउँपालिका-५ बस्ने २० वर्षीय जयराम यादबलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले पीबी ६७-बी २४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ करिब ३६ ग्राम ३ सय ४० मिलिग्राम र नगद २ हजार ५ सय ३० रुपैयाँसहित अर्जुनधारा नगरपालिका-१० चुथाई बस्ने ३० वर्षीय बिक्रम लिम्बुसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सो होटलमा लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
इलाम, सूर्योदय नगरपालिका-८ छिपिटारबट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३ सय ३० मिलिग्रामसहित इलाम नगरपालिका-९ गोल बस्ती बस्ने २७ वर्षीय रोशन खवाससहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले प्र-१-०२-०४१ प ३४१७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।