अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-२६
- A
- A-
- A+
काठमाडौं, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३० वर्षीय सबिन थापा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले मकवानपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको लु.५ प ३२०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ बाडभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने २६ वर्षीय निनु तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले धादिङदेखि काठमाडौं आउँदै गरेको बा.६३ प ४९४० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-४ घर भई कनकाई नगरपालिका-३ डेरा गरी बस्ने २६ वर्षीय करन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।