प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सात सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली सोमबार मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ ।  

Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म गणतन्त्र कोरियामा सञ्चालन हुने ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको साथै प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री सम्मिलित रहनुभएको छ ।

उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।

उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ । साथै साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । 

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सात सदस्यीय टोली गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता
२०८०-०६-०३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । कार्यशालाको दौरानमा प्रहरी महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गर्नुभएको  थियो । भेटघाटको क्रममा उहाँहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको थियो ।उक्त कार्यशालामा साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण भएको थियो ।कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।   

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता-पत्रमा हस्ताक्षर
२०८०-०५-२४

काठमाडौं, नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिनुहुँदै नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो । सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै सम्झौता अनुसार नेपाल पुलिस स्कुलका शिक्षकहरूलाई प्रदान गरिने समयानुकूल ज्ञान र सीपले नेपाल पुलिस स्कुलको शिक्षण पद्दति र विद्यालय सुधारको दिशामा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरूबिचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गर्नुभयो ।समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा. भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले उल्लेख गर्नुभयो ।समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले सम्झौताको महत्व र उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित ९ वटा विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र ९ वटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्ने छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलहरूको समग्र शैक्षिक स्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०४-३१

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।  कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी अधिकृतहरू केन्द्रीत हुनुपर्ने बताउनुभयो । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनको आन्तरिक सुदृढीकरण एवम् प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड आएको चर्चा गर्दै यसलाई अक्षरस पालना गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । कानूनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य अपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो । भिड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नेतर्फ उहाँले जोड दिनुभयो ।   यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक – प्रहरी महानिरीक्षक कुँवर
२०८०-०४-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित Traffic Awareness Video Screening and Stakeholders Interaction on Road Safety Policing विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले विश्व स्वास्थ्य संगठन र UNDP का प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौति रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियो मार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्वपूर्ण  योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने चर्चा गर्दै सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।  प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धि संक्षिप्त जानकारी दिनु भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित ट्राफिक सम्बन्धि जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०४-१७

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना गरी कुल ८८ जना प्रहरी अधिकृतहरू रहनुभएको छ । सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिनुभयो । राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उहाँले बताउनुभयो ।  सगंठनले इमानदार, क्षमतावान र व्यावसायिक प्रहरी कर्मचारीलाई सदैव उच्च मूल्याङ्कन गर्दै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “संगठनको लागि कर्मचारीहरूले केही गरे मात्र संगठन बलियो हुन्छ र संगठनले सबैको हकहितको लागि थप कुराहरू गर्ने सामर्थ्य राख्न सक्छ ।” संगठनको नीति तथा निर्देशन अनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकको सही प्रयोग गरी संगठन सुदृढिकरणका लागि आ-आफ्नोतर्फबाट आत्मसमीक्षा गर्दै अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।     उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही स्तरीय प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो । 

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०४-१६

काठमाडौं, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा आफ्नो धारणा व्यक्त गर्दै  नेपाल प्रहरीले सीमित साधन स्रोत एवम् जनशक्तिको वावजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवम् प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो । सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवम् समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने विचार उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोण अनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्वपूर्ण आधार स्तम्भ रहेको बताउनुभयो । राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको चर्चा गर्दै उहाँले प्राथमिक र स्थायी दूरगामी राष्ट्रिय हितको पहिचान र सो प्राप्तिका लागि राष्ट्रिय सुरक्षामा क्रियाशील विविध पक्षहरूबीच साझा सोच र समझदारीको निर्माण अत्यावश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षा सम्बन्धमा नेपाल प्रहरीको भूमिका, चुनौतिहरू, प्रहरी सांगठनिक संरचना, मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।