प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सात सदस्यीय टोली गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता

२०८०-०६-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ ।

प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

कार्यशालाको दौरानमा प्रहरी महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गर्नुभएको  थियो । भेटघाटको क्रममा उहाँहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको थियो ।

उक्त कार्यशालामा साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण भएको थियो ।

कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।


 


 


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक अष्ट्रिया प्रस्थान
२०८०-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ ।  इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुनुभएको हो ।उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ । यसैगरी  इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र यूएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा  द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राख्नुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-०८-०८

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता र यसको प्रभावकारी कारवाही सम्बन्धी कार्य-आदेश, २०८०’ मा हस्ताक्षर गरी शुभारम्भ गर्नुभयो ।  सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसाबाट पीडित तथा प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुनर्स्थापनाका साथै लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ  ईलाकास्तरसम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरू स्थापना भई सेवा प्रवाह हुँदै आइरहेको बताउनुभयो । प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थपेका चुनौतिहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्न प्रयासहरू केन्द्रित भएको उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य तथा गोष्ठी सम्बन्धी जानकारी दिनुभएको थियो । प्रहरी उपरीक्षक रन्जु सिग्देलले लैंगिक हिंसाको वर्तमान अवस्था: तथ्य, चुनौति र आगामी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा गृह मन्त्रालयका उपसचिव राम बहादुर शाही, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता बास्तोला, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव नितु गर्तौला, राष्ट्रिय महिला आयोगका उपसचिव सिता अधिकारी र स्वास्थ्य सेवा विभागका उपसचिव शर्मिला पौडेलले आ-आफ्नो धारणा व्यक्त गर्दै लैंगिक हिंसा न्यूनिकरणमा सबै सरोकारवाला पक्षहरूको आपसी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।  आज शुभारम्भ भएको कार्यादेशले प्रहरी कर्मचारी संलग्न भएका लैंगिक हिंसाको अनुसन्धान प्रभावकारी गर्न आवश्यक समय सिमा सहितको कार्यान्वयन विधि र समग्र लैंगिक हिंसाको रिपोर्टिङको निश्चित आधारहरू व्यवस्था गरी निरन्तर फलोअप गरी प्रभावकारी कारवाही गर्न प्रत्यक्ष नियमन गर्ने संयन्त्र स्थापना हुने उक्त अवसरमा जानकारी दिईयो ।  गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा उक्त गोष्ठीको आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय नारा ‘UNITE Invest to Prevent Violence against Women and girls’ र ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म उक्त अभियान देशव्यापी रूपमा मनाउन लागिएको छ । 

नेपाल प्रहरी कार्ययोजना तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक समीक्षा सम्पन्न
२०८०-०८-०८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा गत साउनदेखि असोजसम्म ३ महिनाको प्रगति समीक्षा गरियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समयसापेक्ष सांगठनिक विकासका साथै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्ने उद्देश्य अनुरूप गरिएको कार्ययोजना सम्झौताको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण प्रहरी कार्यालयहरू प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । समग्र कार्यालयहरूको काम सन्तोषजनक भएपनि प्रहरी सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउँदै आम नागरिकले सहज सेवा पाउने गरी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले पेशागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्न प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । कार्यसम्झौता कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोग प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

विवेकको प्रयोग गर्दै धैर्य र संयमित भएर प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्ने- प्रहरी महानिरीक्षक
२०८०-०८-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरबाट प्रहरी वरिष्ठ उपरीक्षकहरू बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेब राई दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा चुनौतिको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्वन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उकृष्टताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्याङकन गरेको चर्चा गर्दै संगठनको नीति अनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताउनुभयो । आफूमा रहेको पेशागत ज्ञान, सीप र कौशललाई पूर्णरूपमा प्रयोग गरी आ-आफनो जिम्मेवारी उत्कृष्ट र व्यवासायिक ढंगबाट सम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भई अझ उत्कृष्ट ढंगबाट कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान
२०८०-०७-०८

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८० को अवसरमा बुधबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजे देखि ४ बजेसम्मको समय तोकिएको थियो ।  टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८०-०७-०६

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा सोमबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।