नेपाल प्रहरी कार्ययोजना तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक समीक्षा सम्पन्न
२०८०-०८-०८
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा गत साउनदेखि असोजसम्म ३ महिनाको प्रगति समीक्षा गरियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समयसापेक्ष सांगठनिक विकासका साथै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्ने उद्देश्य अनुरूप गरिएको कार्ययोजना सम्झौताको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण प्रहरी कार्यालयहरू प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । समग्र कार्यालयहरूको काम सन्तोषजनक भएपनि प्रहरी सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउँदै आम नागरिकले सहज सेवा पाउने गरी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले पेशागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्न प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । कार्यसम्झौता कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोग प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।