प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भई स्वदेश फिर्ता

२०७८-०८-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता   हुनुभयो ।

सोही महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश फिर्ता हुनुभएको छ ।

    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।

      ८९औं महासभामार्फत दि फेडेरेटेड स्टेट्‌स अफ माईक्रोनेसियाले १९५औं सदस्य राष्ट्रको रुपमा नयाँ सदस्यता प्राप्त गरेको  छ । इन्टरपोलको ९०औं महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औं महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका Ahmed Nasser AL-RAISI, अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाईजेरियाका Garba Baba UMAR र अमेरिका महादेशका लागि ब्राजिलका Valdecy URQUIZA तथा अफ्रिका लागि २ जना, अमेरिकाका लागि २ जना, एसियाका लागि २ जना र युरोपका लागि ३ जना गरी ९ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको  छ । 

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरूले इन्टरपोलको कार्यकारी समिति सम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना २०२२-२०२५, कार्यक्रम तथा बजेट, कार्यनीतिक तथा रणनीति साझेदारी,  बालबालिका विरुद्धका अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित समेत भएको थियो ।  

साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, यूएई, दक्षिण कोरिया, बंगलादेश, टर्की लगायतका मुलुकका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल समेत गर्नुभएको  थियो ।


सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।