प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानवअधिकार संरक्षण एवम् संवर्द्धनमा नेपाल प्रहरी प्रतिवद्ध

२०८०-१०-२८

  • A
  • A-
  • A+
Share

  काठमाडौं, राज्यको कानून कार्यान्वयन गर्ने मुख्य निकायको रूपमा रहेको नेपाल प्रहरीले नागरिकका संविधान प्रदत्त मौलिक हक, प्रचलनमा रहेका राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकार तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूद्वारा सुनिश्चित मानवअधिकारको संरक्षण, संवर्द्धन र परिपूर्तिको लागि सांगठनिक प्राथमिकताको रूपमा अंगिकार गर्दै आएको छ । सोही अनुरूप मानवअधिकार संरक्षण र संवर्द्धनमा नेपाल प्रहरी विगत देखिनै प्रतिवद्ध रही सक्रिय र प्रभावकारी रूपमा काम गर्दै आएको छ । 

नेपाल प्रहरीले कर्मचारीको बोली, व्यवहारमा नम्रता र नागरिकसँग सम्बन्ध सुधारमा ध्यान दिएको छ । यसका लागि मानवअधिकारको संरक्षण र प्रवर्द्धन सम्बन्धी प्रशिक्षक/ प्रशिक्षण तालिम, प्रहरी कारवाही तथा मानव अधिकार तालिम, नागरिकमैत्री प्रहरी सेवा तथा मानवअधिकार विशेष तालिम, अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी लगायतका तालिम तथा अनुशिक्षण आयोजना गरी सम्बन्धित कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानवअधिकार सम्बन्धी तालिममा २ सय ५७ जना प्रहरी कर्मचारी सहभागी भए । हाल सम्म मानवअधिकार सम्बन्धी तालिममा २८ हजार ९० जना प्रहरी कर्मचारीहरू सहभागी भए । यसैगरी सो अवधिमा मानवअधिकार सम्बन्धी अनुशिक्षण कार्यक्रममा १३ हजार ९६४ जना प्रहरी कर्मचारी सहभागी भए । हाल सम्म  अनुशिक्षणमा ७२ हजार ४०२ जना प्रहरी कर्मचारीहरू सहभागी भए । सो अवधिमा मानवअधिकार सम्बन्धी जनस्तरमा १ सय ६ वटा जनचेतनामूलक कार्यक्रम संचालन गरिएका छन् । ती कार्यक्रममा ३ हजार ८८२ जना सहभागी थिए । साथै हालसम्म ८ सय ३ वटा जनचेतनामूलक कार्यक्रम गरिएको छ । यसबाट २९ हजार ३२३ जना सर्वसाधरण लाभान्वित भएका छन् ।  

नेपाल प्रहरीले मानवअधिकार सम्बन्धी छुट्टै रणनीतिक योजना बनाई कार्यान्वयन गर्दै आएको छ । तालिम, अनुशिक्षण र चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूबाट मानवअधिकार उल्लंघन भए नभएको भन्नेबारे अनुगमन हुने गरेको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “मानवअधिकार सम्बन्धी शिक्षा दिन प्रहरी कर्मचारीलाई भिड नियन्त्रण, अपराध अनुसन्धान तथा नियन्त्रण र बल प्रयोगको सिद्धान्त तथा हतियार प्रयोग सम्बन्धी लगायतका तालिममा समेत मानवअधिकार सम्बन्धी विषय समावेश गर्नुका साथै यस सम्बन्धी छुट्टै तालिम तथा अनुशिक्षण समेत दिएका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड र संविधानले ग्यारेन्टी गरेको मानवअधिकार संरक्षणमा नेपाल प्रहरी प्रतिवद्ध छ ।” कानूनी शासनलाई आत्मसाथ गर्दै राज्यद्वारा प्रदत्त कानूनी अधिकारहरू र सांगठानिक ऐन, नियम र निर्देशिकाको प्रयोग गरी मानवअधिकार संरक्षण र संवर्द्धन गर्न नेपाल प्रहरीका विभिन्न संरचनागत व्यवस्था क्रियाशील रहेको उहाँको भनाइ छ ।

नेपाल प्रहरीले मानवअधिकार संरक्षणमा टेवा पुर्‍याउन मानवअधिकार सम्बन्धी पाठ्यक्रम समेत निर्माण गरेको छ । मानवअधिकार स्थायी आदेश जारी गरेको छ । साथै प्रहरी द्वैमासिक मानवअधिकार विशेषाङ्क २०६२, मानवअधिकार प्रशिक्षण पुस्तिका समेत प्रकाशन गरिएको छ । यस कार्यले मानवअधिकार सम्बन्धी कानूनहरू, निर्देशनहरू, अन्तर्राष्ट्रिय मापदण्डको बारेमा प्रहरी अधिकृत तथा जवानहरूलाई ज्ञान प्राप्त गर्न मदत गरेको छ ।  

मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा छुट्टै मानवअधिकार उल्लंघन अनुगमन इकाई रहेको छ । इकाईले गरेका कामबारे इकाई प्रमुख प्रहरी उपरीक्षक अपिल राज बोहरा भन्नुहुन्छ, “संविधान, प्रचलित राष्ट्रिय कानून तथा नेपाल पक्ष भएका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा व्यवस्था भएका मानवअधिकारको संरक्षण र संवर्द्धन गरी काम गर्न यस इकाई क्रियाशील रहेको छ । मानवअधिकार उल्लंघन घटनाबाट पीडित व्यक्तिले जुनसुकै माध्यमबाट उजुरी गर्न सक्ने, प्राप्त उजुरी उपर छानबिन गर्ने/गर्न लगाउने गरिएको छ ।”  

मानव अधिकारको विषयमा शून्य सहनशिलताको नीति अवलम्बन गरी प्रत्येक प्रहरी कार्यालयहरूमा गुनासो सुन्ने अधिकारी साथै टेलिफोन, इमेल, वेवसाइट, सामाजिक सञ्जाल लगायत जुनसुकै माध्यमबाट गुनासो गर्न सक्ने व्यवस्था छ । चालु आर्थिक वर्षमा परेका ३४ गुनासोमध्ये २० फर्छौट भई १४ अनुसन्धानरत रहेका छन् । 

राष्ट्रिय मानवअधिकार आयोग तथा अन्य संवैधानिक आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र अदालतबाट प्राप्त सिफारिस, निर्णय तथा आदेशको कार्यान्वयन गर्ने गरिएको छ । नेपाल प्रहरीमा रहेका सबै मुद्धा चल्ने युनिटमा हिरासत व्यवस्थापन अधिकृतको व्यवस्था गरिएको छ । कानुन कार्यान्वयनको क्रममा मानवअधिकारको हनन् नहोस् भन्ने नेपाल प्रहरीको अभिप्राय छ । यसप्रति सचेत हुँदै राष्ट्रिय मानवअधिकार आयोग लगायत अन्य संघसंस्थासँग समन्वय गरी काम गरिएको छ । नेपाल प्रहरीको मानवअधिकारप्रतिको नीतिबाट आमनागरिकले न्यायको अनुभव गरेका छन् । यसबाट अपराध रोकथाम, क्षमता अभिवृद्धि, शान्ति सुरक्षा, अपराध अनुसन्धान आदि विषयमा सहयोग पुग्नुको साथै मानवअधिकार संरक्षण र प्रवर्द्धनमा राज्यले अख्तियार गरेको नीति कार्यान्वयनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।