प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सात महिनामा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी रिपोर्ट

२०८०-११-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्‍त भएका थिए । तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा छन् । 

विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको छ । नेपाल प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्छन् । स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने हुन्छ । यसैगरी विदेशमा रहेका नेपाली नागरिकहरूले राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको Nepal Immigration Departure Stamp भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने   हुन्छ । आवश्यक कागजातहरू सहितको निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रकृया पूरा भएपछि निवेदककै युजर आइडीमा  प्रहरी रिपोर्ट पठाइने व्यवस्था छ । सेवाग्राहीको आवेदन विवरण ठिक नभएमा, संदिग्ध व्यक्तिसँग नाम मिल्न गएमा आवेदन दिने र मुद्धा चलेका व्यक्ति एकै हुन/होईनन् ? यकिन गर्नका लागि थप अनुसन्धान गर्नुपर्ने भएकोले केही समय लाग्ने गरेको छ । 

प्रहरी रिपोर्ट सम्बन्धी काम नेपाल प्रहरी प्रधान कार्यालय सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) शाखाको सहयोगमा चालचलन शाखाले गर्दछ । उक्त शाखा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको छ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ भन्नुहुन्छ, “सकेसम्म ५ दिनभित्रै प्रहरी रिपोर्ट उपलब्ध गराई राखेका छौं । जुन विकसित देशको तुलनामा राम्रो सेवा हो । विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदनहरू होल्डमा रहन्छन् र  भेरीफाई गर्दा थप समय लाग्नसक्छ । यसका लागि आधुनिक जगतको टड्कारो आवश्यकताको रूपमा रहेको प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।” 

अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र वितरण सुरूवात २०७६ असोज २४ गतेदेखि भएको हो । सुरूवातदेखि हालसम्म ३१ लाख ४० हजार ९८ जनाले आवेदन दिएका थिए । तीमध्ये नेपाली नागरिकले स्वदेशबाट २८ लाख ९५ हजार २०२, नेपाली नागरिकले विदेशबाट २ लाख ३६ हजार १०, विदेशी नागरिकबाट ७ हजार ८९९ र शरणार्थीबाट ९ सय ८७ वटा आवेदन प्राप्त भएका थिए । ती आवेदनमध्ये २३ लाख १७ हजार ६७३ जना स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको थियो । हाल दैनिक ३ हजार ५ सयदेखि ५ हजार ३ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको छ ।

प्रहरी रिपोर्ट लिने प्रकृया थप सहज बनाउनको लागि सूचना प्रविधि सहयोगी बनेको छ । आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्ने नीति प्रहरीले अख्तियार गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “यस्तो छिटोछरितो सुविधा प्रहरीको सकृयता र सूचना प्रविधिको प्रयोगले मात्र सम्भव भएको हो । यस व्यवस्थालाई अझ प्रभावकारी र सहज हुने गरी काम गर्न नेपाल प्रहरीले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । प्रहरीलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण, त्यसका लागि तालिम दिने लगायतका सूचना प्रविधि सम्बन्धी काम भइरहेका छन् ।”  

प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि निर्मित सफ्टवेयरमध्ये क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस), अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेसन सिस्टम (एएफआइएस) र Online Police Clearance Registration system (OPCR) सफ्टवेयरहरू प्रयोगमा छन् । सिआरएसमा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ । जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । एएफआइएस सफ्टवयरले विदेशी नागरिक नेपालमा रहँदाको आपराधिक अभिलेख औंठा छापबाट थप जाँच गर्न मद्दत गर्दछ । विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ भन्नुहुन्छ, “ छिटो छरितो अपडेट गर्न थप साधन स्रोत आवश्यक पर्छ । प्रविधिको प्रयोग, पुराना अभिलेख अपडेट गर्दै छिटो सेवा दिने प्रयास गरिरहेका छौं ।” 

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपल्ब्ध गराउँछ । अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको छ । 


सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।