प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चालु आर्थिक वर्षको हालसम्म ५ लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र

२०८२-०९-२१

  • A
  • A-
  • A+
Share

 काठमाडौं, नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३ सय ५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । जसमा ४५८ आवेदनमा कसूर उल्लेख भई वितरण गरिएको छ । सो अवधिमा ६ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्‍त भएका थिए । तीमध्ये १ लाख ३० हजार ४ सय २९ वटा आवेदन रद्द भएका थिए भने २ हजार २ सय ६१ आवेदन कार्यान्वयनको क्रममा छन् । हाल दैनिक ६ हजार देखि ५ हजार ५ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार ५ सय प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको छ ।

        वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले Visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र Visa प्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन् । जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ ।  कतिपय अन्तर्राष्ट्रिय विश्व विद्यालयहरूले भर्ना तथा छात्रवृत्ति समेत चारित्रिक प्रमाणपत्रको आधारमा प्रदान गर्ने गर्दछन् । त्यसैले सबै नागरिकहरूले कानुनको पालना गरी आफ्नो स्वच्छ छवि बनाई राख्नु जरूरी रहेको छ ।” 

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ । अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको    छ । निर्देशिका अनुसार कुनै व्यक्ति उपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने छैन । प्रहरी चारित्रिक प्रामाणपत्रमा कुनै त्रुटि भएमा वा विवरण फरक परेमा सम्बन्धित व्यक्तिले त्यस्तो त्रुटि सच्याउन प्रहरी प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् । गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरूपयोग लगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ । साथै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारवाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सो भन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाई पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ ।

प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि Criminal Record System (CRS) र Online Police Clearance Registration system (OPCR) सफ्टवेयरहरू प्रयोगमा छन् । CRS मा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ । जसबाट कुनै व्यक्ति अपराधमा संलग्न भए नभएको जाँच गरिन्छ । होल्डमा भएका आवेदनहरूको सम्बन्धमा एकिन बुझ्ने प्रयोजानार्थ मुद्दा चलाउने प्रहरी कार्यालयहरूलाई समय सीमा तोकी चालचलन शाखाबाट पत्राचार गर्ने गरिएकोमा मातहत कार्यालयहरूबाट पत्रको जवाफ आउन केही समय लाग्ने हुँदा सेवाग्राहीहरूलाई समयमै चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन समेत समय लाग्ने गरेको छ । प्रहरी नायव महानिरीक्षक काफ्ले भन्नुहुन्छ, “विगतका अभिलेखहरू पूर्ण नभएका कारण नाम जुध्न जाने हुँदा केही आवेदनहरू होल्डमा रहन्छन् र भेरीफाई गर्दा थप समय लाग्नसक्छ । यसका लागि आधुनिक प्रविधिको प्रयोगलाई अझै सशक्त बनाउँदै सेवा प्रदान गर्न नेपाल प्रहरी प्रयासरत छ ।” गत भदौ २३ र २४ गतेको आन्दोलन पश्चात मातहत कार्यालयहरूको अभिलेखमा समस्या भएको हुँदा होल्ड भएका प्रश्नहरूको प्रष्ट जवाफ नआउने तथा आन्दोलन पश्चात हरेक क्षेत्रमा प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएकोले आवेदकको संख्यामा उल्लेख्य वृद्धि भएको हुँदा वर्तमान समयमा प्रहरी रिपोर्ट वितरणमा केही समय लाग्ने गरेको छ ।


सम्बन्धित समाचार
तीन महिनाको अवधिमा हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जना पक्राउ
२०८३-०४-१९

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ८ जना, कोशी प्रदेशबाट १४ जना, मधेश प्रदेशबाट ११ जना, बागमती प्रदेशबाट ५ जना, गण्डकी प्रदेशबाट १८ जना, लुम्बिनी प्रदेशबाट १३ जना, कर्णाली प्रदेशबाट १० जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना पक्राउ परेका हुन् ।    पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल २ थान, पेस्तोल २ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल ९ थान, भरूवा बन्दुक ४१ थान,  बन्दुक ९ थान र एयरगन ३ थान गरी जम्मा ६७ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली ४ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, कटुवा पेस्तोलको १४ राउण्ड र विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ ।अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याई अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले सदैव क्रियाशील छ । अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन समेत नेपाल प्रहरी अनुरोध गर्दछ । 

तीन महिनाको अवधिमा ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ
२०८३-०४-१८

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट ३ हजार ३ सय १६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।  जसमध्ये उपत्यकाबाट ५ सय ११ जना, कोशी प्रदेशबाट ७ सय १३ जना, मधेश प्रदेशबाट २ सय ५५ जना, बागमती प्रदेशबाट ४ सय २८ जना, गण्डकी प्रदेशबाट १ सय ८९ जना, लुम्बिनी प्रदेशबाट ५ सय ११ जना, कर्णाली प्रदेशबाट १ सय २१ जना, सुदूरपश्चिम प्रदेशबाट ४ सय ५७ जना र लागूऔषध नियन्त्रण ब्यूरोबाट १ सय ३१ जना पक्राउ परेका हुन् ।    सो अवधिमा अवैध लागूऔषध गाँजा ८ हजार ६ सय ३२ किलो ६ सय ८३ ग्राम ६ सय ९१ मिलिग्राम, चरेस ३१ किलो १ सय ६८ ग्राम ६ सय ७१ मिलिग्राम, कोकिन ५ किलो ७ सय ९२ ग्राम १ सय २० मिलिग्राम, हेरोइन ११ किलो ८ सय ९४ ग्राम १ सय ६५ मिलिग्राम, अफिम १ सय २७ किलो १ सय ६० ग्राम १ सय ३७ मिलिग्राम, पोलेन २१ किलो ६ सय ४६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ लाख ७६ हजार ६ सय २६ ट्याब्लेट, नाइट्राभेट १९ हजार १ सय १० ट्याब्लेट, स्पास्मो ३३ हजार ३ सय ९ ट्याब्लेट, डाईजेपाम ९ हजार ५ सय ५३ एम्पुल, फेनारगन १६ हजार ६ सय ५४ एम्पुल, बुप्रेनोर्फिन ८ हजार १ सय ३० एम्पुल प्रहरीले बरामद गरेको छ ।    लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।

तीन महिनाको अवधिमा ७ हजार २ सय ५१ जना फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-०७

काठमाडौं, नेपाल प्रहरीले गत वैशाख १ गते देखि असार मसान्त सम्म देशभरबाट विभिन्न मुद्दाका ७ हजार २ सय ५१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट ४८ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट १ हजार २ सय ३२ जना, कोशी प्रदेशबाट ९ सय ६० जना, मधेश प्रदेशबाट २ हजार १ सय १७ जना, बागमती प्रदेशबाट ७ सय ६० जना, गण्डकी प्रदेशबाट ४ सय ५२ जना, लुम्बिनी प्रदेशबाट १ हजार १ सय ८१ जना, कर्णाली प्रदेशबाट १ सय ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ३ सय १४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको २ हजार ९ सय ३६ वर्ष ४ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट ७२ करोड ४७ लाख १२ हजार ४३ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ । नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ । 

नेपालमा बालयौन दुराचारको सजाय काटेर अमेरिका फर्किएका व्यक्ति अमेरिकी अदालतबाट पनि बालयौन दुराचारमा दोषी ठहर
२०८३-०४-०४

काठमाडौं, नेपालमा बालयौन दुराचारमा ९ वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले शुक्रबार आफ्नो बेवसाइटमा कुम्ब्सलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो ।नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । उनी त्यसबेलादेखि हिरासतमै छन् । उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ । बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिण्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू सहरमा ओसार पसार गरी बिदेशी बालयौन दुराचारीहरूलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरू गरेको थियो । २०७३ भदौ २४ गते काठमाडौं ठमेलस्थित याम्बु होटलबाट सो ब्यूरोबाट खटिएको प्रहरीले केनेथ जोसेफ कुम्ब्स र बालयौन दुराचारका निम्ती निजलाई सहयोग गर्ने काठमाडौं स्वयम्भू बस्ने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंको २०७४ वैशाख १० गतेको फैसलाले कुम्ब्सलाई ९ वर्ष कैद सजाय ठहर भएको थियो भने पुतवारलाई ४ वर्ष कैद सजाय ठहर भएको  थियो । अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयलको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ । साथै कुम्ब्सले खिचेको पीडितको तस्वीरहरू कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ ।

पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी
२०८३-०३-१९

काठमाडौं, नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको “मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३" स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १/१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहने छन् । नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणवद्ध रूपमा प्रहरी परिचालन   गर्नेछन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि वृहत्त रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू संचालन गरिएको     छ । विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको छ ।’ नेपाल प्रहरीका विशिष्टिकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्वतयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको छ । प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टिकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टिकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने छन् । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ-संस्थासँग समन्वय गरी व्यवस्थापन गरिनेछ ।

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८३-०३-१६

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक अनोज भण्डारी, सर्वद्वितीय एवम् प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. राज कुमार श्रेष्ठ, सर्वतृतीय एवम् कवाज प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक बसन्त समाल मगर, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. ज्योति शर्मा, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक डम्बर सार्की र चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी सहायक निरीक्षक सन्तोष चन्दलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘सङ्कल्प’ को विमोचन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले प्रशिक्षार्थीहरूलाई सफलतापूर्वक आधारभूत तालिम सम्पन्न गरेकोमा हार्दिक बधाई दिँदै आगामी व्यावसायिक जिवनको शुभाकामना समेत दिनुभयो । नेपाल प्रहरीमा प्राविधिक समूहले अपराध नियन्त्रण एवम् अनुसन्धान, प्रहरी कार्य, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन लगायतका संगठनको मुख्य जिम्मेवारीका क्षेत्रहरूमा अतुलनीय सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै तालिमबाट आर्जन गरेको पेशागत ज्ञान, सीप र कौशललाई सम्पूर्ण प्रशिक्षार्थीहरूले मन, वचन र कर्मले आ-आफ्नो कार्यक्षेत्रमा लागु गर्दै उच्चस्तरको कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । राज्यले सुम्पेको जिम्वारीलाई कुशलतापूवर्क वहन गर्न सक्ने दक्ष तथा योग्य जनशक्ति उत्पादनको लागि प्रतिष्ठान सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निर्देशक प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण गराउनु भएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ २१ गतेबाट संचालित १०० दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक २८ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।