प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रमाणमुखी अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै डिजिटल फोरेन्सिक ल्याव

२०८०-११-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीको डिजिटल फोरेन्सिक ल्याव प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग पुर्‍याउन प्रभावकारी माध्यम सावित भएको छ । डिजिटल फोरेन्सिक कम्प्युटर विज्ञानको एउटा शाखा हो । ल्यावले कम्प्युटर, डिजिटल उपकरण, डिजिटल स्टोरेज मिडिया वा डिजिटल कम्प्युटिङ इक्युपमेन्टमा स्टोर हुने डाटालाई अदालत वा न्यायिक प्रकृयामा मान्य हुने तवरले पहिचान गरी डाटाको आवश्यक विश्लेषण पश्चात आएको नतिजालाई रिपोर्टिङ गर्ने काम गर्दछ ।

स्थापनादेखि हालसम्म ल्यावले जम्मा ४ हजार ५५३ वटा मुद्दाका जम्मा २१ हजार ४१५ वटा सवुद परीक्षण सम्पन्न गरेको छ । सो अवधिमा ५ हजार ११३ वटा मुद्दाका २४ हजार ४२५ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा मात्रै ४४० वटा मुद्दाका २ हजार १ सय ६२ वटा सवुद परीक्षण सम्पन्न भएका छन् । सो अवधिमा ७५८ वटा मुद्दाका ३ हजार ९१३ वटा सबुद परीक्षणका लागि ल्यावमा दर्ता भएका थिए । ती मध्ये ५६० मुद्दाका ३ हजार १० सवुद परीक्षणको क्रममा रहेका छन् ।

ल्याव परीक्षण कार्यलाई प्रभावकारी बनाउन Digital Evidences तथा Digital Forensics विषयमा तालिम प्रदान गर्ने गरिएको छ । अपराध अनुसन्धानकर्ताहरूमा Digital Evidence सम्वन्धि क्षमता अभिबृद्धि गर्ने प्रयास गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रमाणमुखी अपराध अनुसन्धान कार्यमा सहयोग गर्ने र सहजता ल्याउने भूमिका ल्यावको रहन्छ । आजकल अपराधीले समेत कतै न कतै डिजिटल प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको देखिन्छ । त्यसैले प्रहरीले पनि आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी उच्चतम प्रयोग गर्न थालेको हो । यसले घटनामा भेटिएका प्रमाण वा वस्तुको परीक्षण र विश्लेषण गरी अपराधी पत्ता लगाउन सहज भएको छ । परीक्षणले साइबर अपराधको अनुसन्धानमा समेत सहयोग पुर्‍याएको छ ।” दक्ष जनशक्ति र साधनस्रोतको प्रयोगबाट प्राप्त हुने सवुदले अदालतलाई मुद्धाको अन्तिम किनारा लगाउन सहजता ल्याउने अपेक्षा गरिएको प्रहरी नायव महानिरीक्षक ढकालको भनाई छ ।

नेपालमा अपराध अनुसन्धानको क्रममा संकलित वैज्ञानिक प्रमाणहरू संरक्षण, उत्खनन् र विश्लेषण गर्न डिजिटल फोरेन्सिक ल्याव स्थापना भई क्रियाशील रहेको छ । ल्यावका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार मण्डल भन्नुहुन्छ, “हाल ल्यावबाट कम्प्युटर, मोबाइल, सोसियल मिडिया, मल्टिमिडिया, मालवयेर, मेमोरी, ड्रोन, जिपिएस र आईओटी डिभाइस लगायतका फोरेन्सिक परीक्षण र विश्लेषण गरी सम्बन्धित निकायलाई रिपोर्ट प्रदान गर्ने गरिएको छ ।” 

अबको अपराध अनुसन्धान परम्परागत भन्दा फरक हुनुपर्छ । अपराधको प्रकृति र प्रवृत्तिमा डिजिटल प्रविधिको प्रयोगतर्फ ध्यान जानु आवश्यक छ । हाल अदालत, संवैधानिक आयोग, नेपाल सरकारबाट गठित समितिहरू, नेपाल प्रहरी, नेपाली सेना, राजश्व अनुसन्धान विभाग, सम्पत्ती सुद्धिकरण विभाग, वन कार्यालय समेत फरेन्सिक सेवा प्राप्त गरिरहेका छन् । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “विश्वव्यापीकरण र विज्ञान प्रविधिको विकासले अपराधमा आएको नयाँ प्रवृत्तिसँग जुध्न सक्ने गरी सेवा विस्तार गर्दैछौं । ल्याव सेवालाई प्रदेशस्तरमा विस्तार गर्ने लक्ष्य नेपाल प्रहरीको छ ।” 

विसं २०७२ मंसिर २० गते ल्यावको स्थापना भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गत रहेर ल्यावले काम गर्दै आएको छ । नेपाल प्रहरी संगठनमा अपराध अनुसन्धानको नविन आवश्यकता अनुरूपको प्रमाणमुखी वैज्ञानिक अनुसन्धान कार्यलाई स्थापित गराउने ल्यावको उद्देश्य रहेको छ । 



 

सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।