प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्यूआर कोडको प्रयोगलाई विस्तार गर्दै नेपाल प्रहरी

२०८०-११-१७

  • A
  • A-
  • A+
Share

काठमाडौं, आम नागरिकले गुनासो, पिरमर्का, उजुरी तथा सुझाव लगायतका प्रहरी सेवासँग सम्बन्धित विषयमा आफ्नो सूचना दिन सक्ने क्यूआर (क्विक रेस्पोन्स) कोडको  व्यवस्थालाई नेपाल प्रहरीले विस्तार गर्दै लगेको छ । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा क्यूआर कोड ल्याइएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गत असोज ६ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा क्यूआर कोडको प्रयोग सार्वजनिक गर्नुभएपछि यसको अन्य कार्यालयहरूमा समेत विस्तार हुँदै आएको छ । 

हालसम्म देशभरका १ सय ८९ प्रहरी कार्यालयहरूमा क्यूआर कोडको विस्तार भएको छ । तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा १ वटा, काठमाडौं उपत्यका अन्तर्गत १२ वटा, कोशी प्रदेश अन्तर्गत २० वटा, मधेश प्रदेश अन्तर्गत १ वटा, बागमती प्रदेश अन्तर्गत ६ वटा, गण्डकी प्रदेश अन्तर्गत २ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ४ वटा, कर्णाली प्रदेश अन्तर्गत १६ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत ११६ वटा प्रहरी कार्यालयहरूमा क्यूआर कोडको व्यवस्था छ । तथ्याङ्क अनुसार क्यूआर कोडको व्यवस्था सबै भन्दा बढि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा मातहतमा देखिन्छ । 

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुरूप क्यूआर कोडको व्यवस्था गरिएको हो । यसलाई थप सशक्त, सेवामुखी र प्रभावकारी बनाउन परम्परागत रूपमा दिइने सेवालाई आम सेवाग्राहीहरूको सहजता र पहुँच कायम गराउन ध्यान दिनुपर्ने    हुन्छ । यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको नीति अनुरूप क्यूआर कोड स्थापना गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रमुख थिएँ । यो सुविधा पाउँदा सेवाग्राही निकै उत्साहित भएको मेरो अनुभव छ । नागरिककै सेवामा खटिने नेपाल प्रहरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गरी कार्यान्वयन गर्न क्यूआर कोडको प्रयोग निकै प्रभावकारी देखिन्छ । त्यसैले नेपाल प्रहरीले क्यूआर कोडको प्रयोगलाई अन्य प्रहरी कार्यालयहरूमा पनि क्रमश: विस्तार गर्दै लैजाने नीति लिएको छ ।” 

नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखामा गत असोज २५ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालय समेत मातहत कात्तिक १८ गतेदेखि, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर समेत मातहत २० वटा कार्यालयमा गत असोज ९ गते, मधेश प्रदेश प्रहरी कार्यालयमा गत असोज ३० गते, बागमती प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर २६ गतेदेखि, गण्डकी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक १५ गतेदखि, लुम्बिनी प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत मंसिर ५ गतेदेखि, कर्णाली प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत कात्तिक २४ गतेदेखि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय समेत मातहतमा गत असोज १७ गतेदेखि क्यूआर कोड कार्यान्वयनमा आएको छ । 

नागरिकको गुनासो क्यूआर कोड मार्फत सिधै सम्बन्धित प्रहरी कार्यालय प्रमुख समक्ष पुग्ने गर्छ । जसको कारण प्राप्त विषयवस्तुको कार्यान्वयन गर्न ढिलाई हुँदैन । यसले प्रहरी सेवालाई छिटो छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शी र जिम्मेवारी बोध गराई नागरिक सम्बन्ध सुमधुर बनाउन र सुशासन कायम गर्न मदत पुग्छ । 

क्यूआर कोडको व्यवस्था पश्चात हालसम्म जम्मा १ सय ३६ वटा उजुरी प्राप्त भएका छन् । तीमध्ये १ सय १४ वटा फर्छ्यौट भइसकेका छन् भने २२ वटा कार्यान्वयनको चरणमा रहेका छन् । तीमध्ये नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखाबाट ५९ वटा, काठमाडौं उपत्यका अन्तर्गत १४ वटा, कोशी प्रदेश अन्तर्गत ४ वटा, बागमती प्रदेश अन्तर्गत ८ वटा, गण्डकी प्रदेश अन्तर्गत १४ वटा, लुम्बिनी प्रदेश अन्तर्गत ९ वटा, कर्णाली प्रदेश अन्तर्गत ४ वटा र सुदूरपश्चिम प्रदेश अन्तर्गत २ वटा उजुरी फछर्यौट भएका छन् । 

क्यूआर कोड व्यवस्था भएका प्रहरी कार्यालयहरूमा सर्वसाधरणको सहजै पहुँच हुने उपयुक्त स्थानमा क्यूआर कोड स्क्यान राखिएको छ । यसको प्रयोगलाई प्रभावकारी बनाउन र छिटो कार्यान्वयन गर्नको लागि अनुगमन समेत गर्ने गरिएको छ । सो अनुरूप प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न ध्यान दिएको छ । यसका लागि नयाँ प्रविधि र उचित तालिमको व्यवस्थापनमा जोड दिएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रहरी सेवा प्रवाहलाई प्रभावकारी र आमनागरिक माझ पारदर्शी एवम् गुनासो सम्बोधन गर्ने लक्ष्य रहेको छ । यसले सुरक्षा प्रतिको विश्वास बढाउन, छिटो र सहज सेवा प्रदान गर्न र समयको सदुपयोग तथा विना झन्झट सेवा दिन सहयोग पुर्‍याएको छ ।”  

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ‘गुनासो व्यवस्थापनमा कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धी कार्यविधि, २०८०’ लागू गरेको छ । यसमा क्यूआर कोडको उद्देश्य र मापदण्ड तय गरी कार्यान्वयनमा गर्दै आएको छ । यस सम्बन्धमा उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना भन्नुहुन्छ, “प्रविधि मार्फत सूचनाको स्रोत बढाउनु पर्छ भन्ने उद्देश्यले क्यूआर कोड संचलान गरिएको हो । यसको विस्तार र लोकप्रियतालाई प्राथमिकतामा राखेर कार्ययोजना बनाई कोशी प्रदेश प्रहरी कार्यालय अगाडि बढेको छ । क्यूआर कोड मार्फत प्राप्त उजुरीमा पूर्ण गोपनियता रहन्छ ।”

सम्बन्धित समाचार
विपद् पश्चात नागरिकको दैनिकीलाई सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय
२०८३-०५-२९

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडो भन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनसंचालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी वहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कुल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्‍बाट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’  भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका बासिन्दा विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका बसिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श (Psychosocial Counseling) सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय ९६ वटा कार्यक्रम मार्फत ४७ हजार ७ सय ७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।  T2T(TIMURE TO TRIVENI) Operation अप्रेशन समेत संचालन गरी प्रहरीले विपद् पश्चातको विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ ।  स्थानीय बासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’ प्रहरीको यो निरन्तर प्रयासले त्यहाँका बासिन्दाहरूमा हौसला जगाएको छ र उनीहरूले थोरै भएपनि राहत महसुस गरिरहेका छन् ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन T2T(TIMURE TO TRIVENI) Operation संचालन
२०८३-०५-२६

काठमाडौं,  भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले T2T(TIMURE TO TRIVENI) Operation संचलानमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ । T2T अप्रेशनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागि परेको छ ।बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराई रहेका मानिस जिवित हुनसक्ने संभावनालाई विशेष प्राथमिकतामा राखेर उद्दार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरिरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रकृयहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रकृयाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहन्छ, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।  कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ ।  प्रहरीले T2T अप्रेशन संचालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको  छ ।’ बाढी प्रभावित विभिन्न जिल्लाहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरी परिचालन     बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरीले सक्रियता बढाएको छ । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन, आवश्यक कानुनी प्रकृया पूरा गरी जमिन मुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ । भौगोलिक विकटकताका कारण उद्दारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुईन मार्फत सर्वसाधरणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।  प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम संचालन, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील छ । बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै T2T अप्रेशनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ । 

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रति थप संवेदनशील हुँदै नेपाल प्रहरी
२०८३-०५-१८

काठमाडौं, बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध कुनै पनि किसिमका अप्रिय घटनाहरू हुन नदिन रसुवामा १० जना, नुवाकोटमा २९ जना र धादिङमा ७ जना महिला प्रहरी कर्मचारीहरूको थप टोली केन्द्रबाट खटाइएको छ । पछिल्लो तथ्याङ्क अनुसार रसुवाको होल्डिङ सेन्टरमा महिला ६० जना, बालक ३७ जना र बालिका ३९ जना गरी जम्मा १ सय ३६ जना रहेका छन् । धादिङमा महिला १ सय २६ जना, बालक २४ जना र बालिका ३२ जना गरी १ सय ८२ जना रहेका छन् भने नुवाकोटमा महिला ९ सय २९ जना, बालक १ सय ९५ जना र बालिका १ सय ६८ जना गरी जम्मा १ हजार २ सय ९२ जना रहेका छन् । यसैगरी काठमाडौंको होल्डिङ सेन्टरमा महिला १ सय ९ जना, बालक ५३ जना र बालिका ४९ जना गरी जम्मा २ सय ११ जना रहेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराध नियन्त्रणमा प्रहरी संवेदनशील भई कार्य गरिरहेको छ । होल्डिङ सेन्टरमा महिला तथा बालबालिका विरूद्ध कुनै पनि अप्रिय घटना हुन नदिन थप प्रहरी टोली परिचालित छन् । उनीहरूले महिला तथा बालबालिका सँग सम्बन्धित देखा परेका समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श समेत प्रदान गर्नेछन् ।’  बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टरमा नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक सहितको टोलीले पनि स्वास्थ्य जाँचका साथै मनोपरामर्श समेत दिँदै आइरहेका छन् ।    

सम्पर्कविहीनका आफन्तको डिएनए प्रोफाइलिङ नेपाल प्रहरी अस्पतालमा गर्न सकिने
२०८३-०५-१७

काठमाडौं, नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ । बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो । नेपाल प्रहरी अस्पतालमा आज १७:०० बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५ सय ३९ वटा डिएनए प्रोफाइलिङका लागि नमुना संकलन गरिएको छ । नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी भन्नुहुन्छ, ‘सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र २ प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना (Fresh Blood) दिन सक्नेछन् । उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नु पर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत् पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमुना संकलन गरिने छ । संकलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउँछौं ।’   नेपाल प्रहरीको Scene of Crime Officer (SOCO)  सहितको टोलीले बाढी प्रभावित क्षेत्रहरूमा बाढीका कारण मृत्यु भएका व्यक्तिहरूको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पुरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको छ । फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक संकलन गरिएको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ । पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचान जन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डिएनए नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।   फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो २ प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगंजस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । यसैगरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले विदेशमा नै डिएनए प्रोफाइलिङ गरी तुलनाको लागि डिएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सक्नेछन् ।