प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट ५ हजार ४१७ जनाको पोलिग्राफ परीक्षण

२०८०-११-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं बबरमहल बस्ने पूर्व राजदूत केशवराज झाको २०७५ भदौ ६ गते हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरिएको थियो । यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गत असोज २३ गते गोली हानेर हत्या भएको घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न व्यक्तिको पोलिग्राफ परीक्षण गरिएको थियो । त्यसैगरी काठमाडौंको रानीबारीस्थित ईन्जिनियर दम्पत्ती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको २०५९ असार ३१ गते कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा शंकित व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरियो । यी परीक्षणले घटनाको अनुसन्धानमा निकै महत्वपूर्ण सहयोग पुर्‍याएको थियो । 

उपरोक्त ३ वटा घटनाका शंकित व्यक्तिहरूमा गरिएको पोलिग्राफ परीक्षण त प्रतिनिधि मात्र हो । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म १० वर्षको अवधिमा जम्मा २ हजार ७७८ मुद्दाका ५ हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये आर्थिक वर्ष २०७०/०७१ मा २२५ जना, आर्थिक वर्ष २०७१/०७२ मा ४६८ जना, आर्थिक वर्ष २०७२/०७३ मा ३९१ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५४३ जना, आर्थिक वर्ष २०७४/०७५ मा ५८५ जना, आर्थिक वर्ष २०७५/०७६ मा ५८८ जना, आर्थिक वर्ष २०७६/०७७ मा ८५९ जना, आर्थिक वर्ष २०७७/०७८ मा ६०५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३८१ जना, आर्थिक वर्ष २०७९/०८० मा ४८२ जना र चालु आर्थिक वर्षमा २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका २४१ जना, पूर्व प्रहरी कर्मचारी ६ जना, नेपाली सेनाका ४० जना, राष्ट्रिय अनुसन्धान विभागका ५ जना र सशस्त्र प्रहरी बलका २९ जना गरी जम्मा ३२१ जना रहेका छन् ।  

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ हो । यसलाई बैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो । नेपाल प्रहरीमा २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धान लगायत अन्य विभिन्न अनुसन्धानहरूमा महत्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणहरूले अनुसन्धानलाई निर्देशित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ । यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ । साथै समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कन समेत गर्ने गरिएको छ ।”    

पोलिग्राफ प्रि-टेष्ट, टेष्ट र पोष्ट टेष्ट गरी ३ चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण संचालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था छ । शंकित व्यक्तिले झुठ बोले/नबोलेको परीक्षणले संकेत गर्दछ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा १४३ वटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरूष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको संकेत १०६ जना, झुठ नबोलेको संकेत १७० जना, राय दिन नसकेको अवस्था २ जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त संकेत १ जनामा देखिएको छ ।  

घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्याक्ति वा शंकित वा पीडित वा साक्षीहरूले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नको लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणहरूको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “आउँदा दिनहरूमा पोलिग्राफको प्रयोग क्षेत्रलाई अझ फराकिलो बनाउँदै लगिने छ । त्यसका लागि साधनस्रोत र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिइएको छ ।”

हाल केन्द्रीय पोलिग्राफ मातहत रही अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूमा पोलिग्राफ परीक्षण हुँदै आएको छ । पोलिग्राफ परीक्षण सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नविन राज राई भन्नुहुन्छ, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता अनूरूप परीक्षण गर्ने गरिएको छ । कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।”


सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।