प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुर्नस्थापना गराउँदै नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०८०-११-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई समाजमा पुर्नस्थापना गराउन रानीबारीस्थित नेपाल प्रहरीको आसरा सुधार केन्द्र सक्रिय छ । उर्जाशील युवाहरू समेत दुर्व्यसनमा फसेको खण्डमा व्यक्ति, परिवार, समाज र देशलाई समेत नराम्रो असर गर्छ । त्यस्ता व्यक्तिहरूलाई उपचार र सुधारको माध्यमबाट समाजमा पुर्नस्थापना गराउन केन्द्र स्थापनाकाल देखिनै क्रियाशील रहँदै आएको छ । 

आसरा मुनाफा रहित संस्था हो । सामाजिक सेवाको भावले केन्द्रले काम गर्दछ । लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल बढाउने र लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउन पहल गर्दछ । सचेतना कार्यक्रमहरू संचालन गर्दछ । प्रयोगकर्ताहरूलाई उपचार गरी घर, परिवार र समाजमा पुनःस्थापना गर्ने गर्दछ । सीप मूलक कार्यमा सहभागी गराई स्वावलम्बी बन्न सिकाउँछ । लागूऔषध प्रयोगबाट हुने रोगहरूबारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता उद्देश्य केन्द्रका रहेका छन् ।

उपचारका लागि केन्द्रमा आवासीय सुविधासहित निश्चित शुल्क र तोकिएको प्रकृया पूरा गरी भर्ना गरिने व्यवस्था छ । हाल एक पटकमा १२० जनासम्म भर्ना लिन सक्ने सिट क्षमता रहेको छ । उपचार अवधि न्यूनतम ४ महिनाको हुने गर्दछ । केन्द्रमा आर्थिक वर्ष २०७४/०७५ मा २८४ जना, आर्थिक वर्ष २०७५/०७६ मा २७० जना, आर्थिक वर्ष २०७६/०७७ मा २२३ जना, आर्थिक वर्ष २०७७/०७८ मा ३२५ जना, आर्थिक वर्ष २०७८/०७९ मा ३६४ जना, आर्थिक वर्ष २०७९/०८० मा ३३४ जना र चालु आर्थिक वर्षमा १९४ जना भर्ना भई उपचार गराएका थिए । तीमध्ये हाल ११० जना उपचाररत छन् । उपचार अवधि पूरा गरी घर फर्किएकामध्ये ५० प्रतिशत भन्दा बढिले पूरा सफलता पाएको अनुगमनको क्रममा एकिन भएको छ । केन्द्रको स्थापनाकालदेखि हालसम्म जम्मा ६ हजार ७२ जना भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् । 

लागूऔषध प्रयोगकर्ताहरू आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइन्छ । जसको कारण कतिपयको जीवन तहसनहस भएको छ । आर्थिक र सामाजिक अपराध बढ्ने गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “लागूऔषध दुर्व्यसनबाट हुने अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । केन्द्रले संचालन गर्ने सचेतना र अभिमुखिकरण कार्यक्रमले निकै सहयोग पुर्‍याएको छ । केन्द्रको प्रभावकारितालाई मध्यनजर राखी केन्द्रलाई अझ सुविधा सम्पन्न, सेवामुखी, आत्मनिर्भर र समय सापेक्ष बनाउँदै समाजमा सशक्त पहिचान कायम गर्ने उद्देश्य रहेको छ । यसका लागि पूर्वाधार थप्दै लैजानुका साथै सेवालाई ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको छ ।” 

आर्थिक वर्ष २०५४/०५५ देखि आर्थिक वर्ष २०७९/०८० सम्म २० वर्षदेखि मुनिका १ हजार ३४५ जना, २१ देखि ३० वर्ष सम्मका २ हजार ७९१ जना, ३१ देखि ४० वर्ष सम्मका १ हजार १७७ जना, ४१ वर्ष भन्दा माथिका ५६५ जना गरी कुल ५ हजार ८७८ जना भर्ना भई उपचार गरेका छन् । तथ्याङ्क विश्लेषण गर्दा २१ वर्षदेखि ३० वर्ष उमेर सम्मका सबै भन्दा बढि र ४१ वर्षदेखि माथि सबै भन्दा कम लागूऔषध प्रयोगकर्ताहरूले उपचार सेवा लिएका छन् । तीमध्ये शैक्षिक योग्यताको आधारमा साधारण लेखपढ १ हजार ६०४ जना, एसएलसी १ हजार ७३६ जना, प्रमाणपत्र तह १ हजार ८४० जना, स्नातक ५७६ जना, स्नाकोत्तर १०८ जना र एमबिबिएस १४ जना छन् । तथ्याङ्क विश्लेषण गर्दा शैक्षिक योग्यतामध्ये प्रमाणपत्र तह समूहका सबै भन्दा बढि र सबै भन्दा कम एमबिबिएस समूहका रहेको देखिन्छ ।  

लागूऔषधको नशामा लागेका व्यक्तिहरूलाई पुनर्जीवन प्रदान गर्न केन्द्रमा मेडिकल युनिटको व्यवस्थाको साथै आवश्यकता अनुसार अभिभावकको परामर्शमा थप उपचार प्रकृया अवलम्वन गर्ने व्यवस्था छ । साथै योगाभ्यास, विभिन्न खेलकुद, शरीरिक व्यायम, व्यक्तिगत परामर्श, सामूहिक परामर्श, नैतिक शिक्षाका कक्षाहरू तथा प्रश्नोत्तर, लेखन कला, विविध भूमिका निर्वाहको बारेमा प्रयोगात्मक कक्षाहरू संचालन गरिन्छ । पारिवारिक र सामाजिक समन्वय समेत गरिन्छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “अपराध न्यूनीकरण र दुर्व्यसनीलाई समाजमा पुर्नस्थापना गर्ने उद्देश्यसहित केन्द्रले सामाजिक सेवाको रूपमा उदाहरणीय काम गरिरहेको छ । २१ देखि ३० वर्ष उमेर र प्रमाणपत्र तह अध्ययन गरेको संख्या तथ्याङ्कले सबै भन्दा बढि देखाएको समूहलाई  लक्षित गरी काम गर्न केन्द्र सक्रिय छ ।” 

हाल नेपाल प्रहरी श्रीमती संघको संचालन र सुपरिवेक्षणमा रानीबारीको साथै हालै स्थापना भएका सुनसरीको धरान र कैलालीको धनगढी शाखाबाट सेवा प्रदान हुँदै आएको छ ।

 


सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।