प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विपद् व्यवस्थापनमा तीन आर्थिक वर्षमा १ लाख १ हजार २८३ जना प्रहरी परिचालन

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं नागार्जुन नगरपालिका-४ बाफल महाडोल बसोबास गर्ने ५० वर्षीया महिला काम गर्ने क्रममा फागुन २ गते अचानक इनारमा खसिन् । विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट उद्दार सामग्रीसहित खटिएको प्रहरी टोलीले करिब १ सय फिट गहिरो इनारबाट महिलालाई सकुशल उद्दार गरी उपचारको लागि मनमोहन अस्पताल पठायो । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-३ नबिनटोल बस्ने दोलखाकी २८ वर्षीया महिला गत माघ १ गते आफ्नै घर कम्पाउण्डमा रहेको करिब ३० फिट गहिरो ईनारभित्र खसेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी सहितको उद्दार टोलीले सकुशल उद्दार गरी थप उपचारको लागि पाटन अस्पताल लग्यो ।

यी दुई घटना त प्रतिनिधि पात्र मात्र हुन् । यसरी विपद्‍मा परेका व्यक्तिहरूको उद्दार गरिएका घटना धेरै छन् । भूकम्प, बाढी, पहिरो र भूक्षय, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, सवारी दुर्घटना, विमान दुर्घटना, औद्योगिक दुर्घटना, पशु आतंक आदि जस्ता विपद् आइपरेको अवस्थामा नेपाल प्रहरी सक्रिय रूपमा उद्दारमा जुट्ने गरेको छ । यसका लागि विपद् व्यवस्थापन कार्यालयलाई विशेष प्रहरी इकाईको रूपमा स्थापना गरी विपद्‍को बेला तत्काल उद्दारमा खटिने गरिएको छ ।

नेपाल प्रहरीले विपद् व्यवस्थापनमा आर्थिक वर्ष २०७८/०७९ मा ३५ हजार ५९७ जना, आर्थिक वर्ष २०७९/०८० मा ४१ हजार ३६७ जना र चालु आर्थिक वर्षको ७ महिनामा २४ हजार ३१९ जना गरी जम्मा १ लाख १ हजार २८३ जना जनशक्ति परिचालन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९३१ वटा, आर्थिक वर्ष २०७९/०८० मा ६ हजार २२९ वटा र चालु आर्थिक वर्षको ७ महिनामा ३ हजार २२४ वटा विपद्का घटना भएका थिए । 

विपद् व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि गरी विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज तथा कुशल उद्दार गर्ने नेपाल प्रहरीको मिसन रहेको छ । यो मिसन पूरा गर्न विपद् जोखिम, न्यूनीकरण, खोज तथा उद्धारको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने अर्जुनदृष्टि नेपाल प्रहरीको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “शान्ति सुरक्षामा अहोरात्र खटिरहने नेपाल प्रहरी विपद् व्यवस्थापन तथा न्यूनीकरण अभियानमा पनि सक्रिय छ । प्रभावकारी तयारी, शीघ्र जनशक्ति परिचालन र कुशल उद्दारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँगको समन्वयमा काम गर्ने गरिएको छ । प्रभावकारी खोज तथा उद्दारका लागि आगामी दिनमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ  ।” 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा जम्मा ३ हजार २२४ विपद्का घटना भएका छन् । ती घटनामा उद्दारका लागि २४ हजार ३१९ जना प्रहरी परिचालन गरिएको थियो । तीमध्ये आगलागीका १ हजार ९२७ वटा, पहिरोका ५२३ वटा, जनावर आक्रमण २७७ वटा, अविरल वर्षा १६९ पटक, बाढि १२४ पटक, भूकम्प ६९ पटक, चट्याङ ६३ पटक, लेक लाग्नु ४५ वटा, हावाहुरी ११ पटक, हिमपहिरो ३ पटक, हिमपात/शितलहर/ डुंगा दुर्घटना १/१ पटक र अन्य १० वटा घटना भएका थिए । तीमध्ये सबै भन्दा बढि आगलागीका घटना भएका छन् । ती घटनामा परेर ३१२ जनाको मृत्यु भएको छ । १ हजार १११ जना घाइते भएका छन् भने ९ जना वेपत्ता भएका छन् ।  

विपद् व्यवस्थापनको लागि नेपाल प्रहरीले आवश्यक साधन स्रोत र जनशक्तिसहितको छुट्टै ईकाइ गठन गरेको छ । विशिष्टिकृत ईकाइको रूमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीले काम गर्दै आएको छ । महाशाखाका प्रहरी उपरीक्षक हेरम्ब शर्मा भन्नुहुन्छ, “स्थानीय प्रहरी वा अन्य स्रोतबाट उद्दार गर्न नसकिएका कठिन घटनाहरूमा महाशाखाबाट आधुनिक प्रविधिसहितको उद्दार टोली खटि प्रभावकारी रूपमा उद्दार गर्ने गरिएको छ । हाल पालिका, स्कुल, उपत्यकाका प्रहरी युनिटहरूमा सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम र अनुशिक्षण तालिम समेत महाशाखाले प्रदान गरिरहेको छ ।” 

चालु आर्थिक वर्षमा जाजरकोट लगायतका ठाउँमा गरी ६९ वटा भूकम्पका धक्का महसुस भई १ सय ५५ जनाको दु:खद मृत्यु भयो भने ४ सय ९ जना घाइते भए । तत्काल २ हजार ५०४ जना प्रहरी कर्मचारी उद्दारमा परिचालन भए । यस्ता घटनाहरूमा सरकारी तथा गैह्रसरकारी सरोकारवालाहरू सँग समन्वय गरी प्रभावकारी खोज तथा उद्दार कार्य गर्ने गरिएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “प्रहरीले प्रभावकारी शान्ति सुरक्षाको लागि विपदका घटनाहरुमा तदारुकताका साथ आफ्नो भुमिका निर्वाह गर्दै सबै पक्षहरुको सहयोग, समन्वय र सहकार्य मार्फत जनधनको क्षती न्यूनीकरण मार्फत सुरक्षित समाजको निर्माणमा लागी परेको छ । ” 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले सुरक्षा निकायले आपत्कालिन खोज, उद्दार तथा राहत वितरणमा प्रभावकारी रूपमा सम्पन्न गर्ने व्यवस्था गरेको छ । सोही अनुरूप नेपाल प्रहरीले विपद् घटनाको व्यवस्थापन गर्न  विशिष्ट उद्दार उपकरणसहित तत्काल उद्दार टोली खटाउने गरेको छ । 

 

सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।