प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विपद् व्यवस्थापनमा तीन आर्थिक वर्षमा १ लाख १ हजार २८३ जना प्रहरी परिचालन

२०८०-११-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं नागार्जुन नगरपालिका-४ बाफल महाडोल बसोबास गर्ने ५० वर्षीया महिला काम गर्ने क्रममा फागुन २ गते अचानक इनारमा खसिन् । विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट उद्दार सामग्रीसहित खटिएको प्रहरी टोलीले करिब १ सय फिट गहिरो इनारबाट महिलालाई सकुशल उद्दार गरी उपचारको लागि मनमोहन अस्पताल पठायो । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-३ नबिनटोल बस्ने दोलखाकी २८ वर्षीया महिला गत माघ १ गते आफ्नै घर कम्पाउण्डमा रहेको करिब ३० फिट गहिरो ईनारभित्र खसेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी सहितको उद्दार टोलीले सकुशल उद्दार गरी थप उपचारको लागि पाटन अस्पताल लग्यो ।

यी दुई घटना त प्रतिनिधि पात्र मात्र हुन् । यसरी विपद्‍मा परेका व्यक्तिहरूको उद्दार गरिएका घटना धेरै छन् । भूकम्प, बाढी, पहिरो र भूक्षय, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, सवारी दुर्घटना, विमान दुर्घटना, औद्योगिक दुर्घटना, पशु आतंक आदि जस्ता विपद् आइपरेको अवस्थामा नेपाल प्रहरी सक्रिय रूपमा उद्दारमा जुट्ने गरेको छ । यसका लागि विपद् व्यवस्थापन कार्यालयलाई विशेष प्रहरी इकाईको रूपमा स्थापना गरी विपद्‍को बेला तत्काल उद्दारमा खटिने गरिएको छ ।

नेपाल प्रहरीले विपद् व्यवस्थापनमा आर्थिक वर्ष २०७८/०७९ मा ३५ हजार ५९७ जना, आर्थिक वर्ष २०७९/०८० मा ४१ हजार ३६७ जना र चालु आर्थिक वर्षको ७ महिनामा २४ हजार ३१९ जना गरी जम्मा १ लाख १ हजार २८३ जना जनशक्ति परिचालन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९३१ वटा, आर्थिक वर्ष २०७९/०८० मा ६ हजार २२९ वटा र चालु आर्थिक वर्षको ७ महिनामा ३ हजार २२४ वटा विपद्का घटना भएका थिए । 

विपद् व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि गरी विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज तथा कुशल उद्दार गर्ने नेपाल प्रहरीको मिसन रहेको छ । यो मिसन पूरा गर्न विपद् जोखिम, न्यूनीकरण, खोज तथा उद्धारको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने अर्जुनदृष्टि नेपाल प्रहरीको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “शान्ति सुरक्षामा अहोरात्र खटिरहने नेपाल प्रहरी विपद् व्यवस्थापन तथा न्यूनीकरण अभियानमा पनि सक्रिय छ । प्रभावकारी तयारी, शीघ्र जनशक्ति परिचालन र कुशल उद्दारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँगको समन्वयमा काम गर्ने गरिएको छ । प्रभावकारी खोज तथा उद्दारका लागि आगामी दिनमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ  ।” 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा जम्मा ३ हजार २२४ विपद्का घटना भएका छन् । ती घटनामा उद्दारका लागि २४ हजार ३१९ जना प्रहरी परिचालन गरिएको थियो । तीमध्ये आगलागीका १ हजार ९२७ वटा, पहिरोका ५२३ वटा, जनावर आक्रमण २७७ वटा, अविरल वर्षा १६९ पटक, बाढि १२४ पटक, भूकम्प ६९ पटक, चट्याङ ६३ पटक, लेक लाग्नु ४५ वटा, हावाहुरी ११ पटक, हिमपहिरो ३ पटक, हिमपात/शितलहर/ डुंगा दुर्घटना १/१ पटक र अन्य १० वटा घटना भएका थिए । तीमध्ये सबै भन्दा बढि आगलागीका घटना भएका छन् । ती घटनामा परेर ३१२ जनाको मृत्यु भएको छ । १ हजार १११ जना घाइते भएका छन् भने ९ जना वेपत्ता भएका छन् ।  

विपद् व्यवस्थापनको लागि नेपाल प्रहरीले आवश्यक साधन स्रोत र जनशक्तिसहितको छुट्टै ईकाइ गठन गरेको छ । विशिष्टिकृत ईकाइको रूमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीले काम गर्दै आएको छ । महाशाखाका प्रहरी उपरीक्षक हेरम्ब शर्मा भन्नुहुन्छ, “स्थानीय प्रहरी वा अन्य स्रोतबाट उद्दार गर्न नसकिएका कठिन घटनाहरूमा महाशाखाबाट आधुनिक प्रविधिसहितको उद्दार टोली खटि प्रभावकारी रूपमा उद्दार गर्ने गरिएको छ । हाल पालिका, स्कुल, उपत्यकाका प्रहरी युनिटहरूमा सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम र अनुशिक्षण तालिम समेत महाशाखाले प्रदान गरिरहेको छ ।” 

चालु आर्थिक वर्षमा जाजरकोट लगायतका ठाउँमा गरी ६९ वटा भूकम्पका धक्का महसुस भई १ सय ५५ जनाको दु:खद मृत्यु भयो भने ४ सय ९ जना घाइते भए । तत्काल २ हजार ५०४ जना प्रहरी कर्मचारी उद्दारमा परिचालन भए । यस्ता घटनाहरूमा सरकारी तथा गैह्रसरकारी सरोकारवालाहरू सँग समन्वय गरी प्रभावकारी खोज तथा उद्दार कार्य गर्ने गरिएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “प्रहरीले प्रभावकारी शान्ति सुरक्षाको लागि विपदका घटनाहरुमा तदारुकताका साथ आफ्नो भुमिका निर्वाह गर्दै सबै पक्षहरुको सहयोग, समन्वय र सहकार्य मार्फत जनधनको क्षती न्यूनीकरण मार्फत सुरक्षित समाजको निर्माणमा लागी परेको छ । ” 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले सुरक्षा निकायले आपत्कालिन खोज, उद्दार तथा राहत वितरणमा प्रभावकारी रूपमा सम्पन्न गर्ने व्यवस्था गरेको छ । सोही अनुरूप नेपाल प्रहरीले विपद् घटनाको व्यवस्थापन गर्न  विशिष्ट उद्दार उपकरणसहित तत्काल उद्दार टोली खटाउने गरेको छ । 

 

सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।