विपद् व्यवस्थापनमा तीन आर्थिक वर्षमा १ लाख १ हजार २८३ जना प्रहरी परिचालन
२०८०-११-२३
- A
- A-
- A+
काठमाडौं, काठमाडौं नागार्जुन नगरपालिका-४ बाफल महाडोल बसोबास गर्ने ५० वर्षीया महिला काम गर्ने क्रममा फागुन २ गते अचानक इनारमा खसिन् । विपद् व्यवस्थापन कार्यालय सामाखुशीबाट उद्दार सामग्रीसहित खटिएको प्रहरी टोलीले करिब १ सय फिट गहिरो इनारबाट महिलालाई सकुशल उद्दार गरी उपचारको लागि मनमोहन अस्पताल पठायो । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका-३ नबिनटोल बस्ने दोलखाकी २८ वर्षीया महिला गत माघ १ गते आफ्नै घर कम्पाउण्डमा रहेको करिब ३० फिट गहिरो ईनारभित्र खसेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी सहितको उद्दार टोलीले सकुशल उद्दार गरी थप उपचारको लागि पाटन अस्पताल लग्यो ।
यी दुई घटना त प्रतिनिधि पात्र मात्र हुन् । यसरी विपद्मा परेका व्यक्तिहरूको उद्दार गरिएका घटना धेरै छन् । भूकम्प, बाढी, पहिरो र भूक्षय, हावाहुरी, आगलागी, चट्याङ, शीतलहर, सवारी दुर्घटना, विमान दुर्घटना, औद्योगिक दुर्घटना, पशु आतंक आदि जस्ता विपद् आइपरेको अवस्थामा नेपाल प्रहरी सक्रिय रूपमा उद्दारमा जुट्ने गरेको छ । यसका लागि विपद् व्यवस्थापन कार्यालयलाई विशेष प्रहरी इकाईको रूपमा स्थापना गरी विपद्को बेला तत्काल उद्दारमा खटिने गरिएको छ ।
नेपाल प्रहरीले विपद् व्यवस्थापनमा आर्थिक वर्ष २०७८/०७९ मा ३५ हजार ५९७ जना, आर्थिक वर्ष २०७९/०८० मा ४१ हजार ३६७ जना र चालु आर्थिक वर्षको ७ महिनामा २४ हजार ३१९ जना गरी जम्मा १ लाख १ हजार २८३ जना जनशक्ति परिचालन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९३१ वटा, आर्थिक वर्ष २०७९/०८० मा ६ हजार २२९ वटा र चालु आर्थिक वर्षको ७ महिनामा ३ हजार २२४ वटा विपद्का घटना भएका थिए ।
विपद् व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि गरी विपद् प्रतिकार्यमा शीघ्र परिचालन, प्रभावकारी खोज तथा कुशल उद्दार गर्ने नेपाल प्रहरीको मिसन रहेको छ । यो मिसन पूरा गर्न विपद् जोखिम, न्यूनीकरण, खोज तथा उद्धारको क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने अर्जुनदृष्टि नेपाल प्रहरीको छ । यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “शान्ति सुरक्षामा अहोरात्र खटिरहने नेपाल प्रहरी विपद् व्यवस्थापन तथा न्यूनीकरण अभियानमा पनि सक्रिय छ । प्रभावकारी तयारी, शीघ्र जनशक्ति परिचालन र कुशल उद्दारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँगको समन्वयमा काम गर्ने गरिएको छ । प्रभावकारी खोज तथा उद्दारका लागि आगामी दिनमा दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखिएको छ ।”
चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा जम्मा ३ हजार २२४ विपद्का घटना भएका छन् । ती घटनामा उद्दारका लागि २४ हजार ३१९ जना प्रहरी परिचालन गरिएको थियो । तीमध्ये आगलागीका १ हजार ९२७ वटा, पहिरोका ५२३ वटा, जनावर आक्रमण २७७ वटा, अविरल वर्षा १६९ पटक, बाढि १२४ पटक, भूकम्प ६९ पटक, चट्याङ ६३ पटक, लेक लाग्नु ४५ वटा, हावाहुरी ११ पटक, हिमपहिरो ३ पटक, हिमपात/शितलहर/ डुंगा दुर्घटना १/१ पटक र अन्य १० वटा घटना भएका थिए । तीमध्ये सबै भन्दा बढि आगलागीका घटना भएका छन् । ती घटनामा परेर ३१२ जनाको मृत्यु भएको छ । १ हजार १११ जना घाइते भएका छन् भने ९ जना वेपत्ता भएका छन् ।
विपद् व्यवस्थापनको लागि नेपाल प्रहरीले आवश्यक साधन स्रोत र जनशक्तिसहितको छुट्टै ईकाइ गठन गरेको छ । विशिष्टिकृत ईकाइको रूमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीले काम गर्दै आएको छ । महाशाखाका प्रहरी उपरीक्षक हेरम्ब शर्मा भन्नुहुन्छ, “स्थानीय प्रहरी वा अन्य स्रोतबाट उद्दार गर्न नसकिएका कठिन घटनाहरूमा महाशाखाबाट आधुनिक प्रविधिसहितको उद्दार टोली खटि प्रभावकारी रूपमा उद्दार गर्ने गरिएको छ । हाल पालिका, स्कुल, उपत्यकाका प्रहरी युनिटहरूमा सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम र अनुशिक्षण तालिम समेत महाशाखाले प्रदान गरिरहेको छ ।”
चालु आर्थिक वर्षमा जाजरकोट लगायतका ठाउँमा गरी ६९ वटा भूकम्पका धक्का महसुस भई १ सय ५५ जनाको दु:खद मृत्यु भयो भने ४ सय ९ जना घाइते भए । तत्काल २ हजार ५०४ जना प्रहरी कर्मचारी उद्दारमा परिचालन भए । यस्ता घटनाहरूमा सरकारी तथा गैह्रसरकारी सरोकारवालाहरू सँग समन्वय गरी प्रभावकारी खोज तथा उद्दार कार्य गर्ने गरिएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “प्रहरीले प्रभावकारी शान्ति सुरक्षाको लागि विपदका घटनाहरुमा तदारुकताका साथ आफ्नो भुमिका निर्वाह गर्दै सबै पक्षहरुको सहयोग, समन्वय र सहकार्य मार्फत जनधनको क्षती न्यूनीकरण मार्फत सुरक्षित समाजको निर्माणमा लागी परेको छ । ”
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले सुरक्षा निकायले आपत्कालिन खोज, उद्दार तथा राहत वितरणमा प्रभावकारी रूपमा सम्पन्न गर्ने व्यवस्था गरेको छ । सोही अनुरूप नेपाल प्रहरीले विपद् घटनाको व्यवस्थापन गर्न विशिष्ट उद्दार उपकरणसहित तत्काल उद्दार टोली खटाउने गरेको छ ।