प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पछिल्ला दिनहरूमा लागूऔषध गाँजा विरूद्ध प्रहरी आक्रामक

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, धादिङको गजुरीबाट लागूऔषध गाँजा ६२० किलो ४४ ग्रामसहित सर्लाही लालबन्दीका २९ वर्षीय सन्तोष कुमार साह फागुन १५ गते पक्राउ परे । मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनि ट्रकमा कबाडीको सामानभित्र लुकाई राखेको उक्त गाँजासहित ट्रकका चालक साहलाई प्रहरीले पक्राउ गरेको हो । 

चितवनको झुरझुरेबाट धनकुटाका ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तुका २५ वर्षीय शुसिराम थारू लागूऔषध गाँजा ५४४ किलोसहित फागुन ७ गते पक्राउ परे । यसैगरी धनकुटा भेडेटार चोकबाट को.१ ख ७३२२ नम्बरको इन्धन बोक्ने ट्याङकरबाट लागूऔषध गाँजा ५९४ किलोसहित भारत अररियाका ४४ वर्षीय नईम खान समेत ४ जना फागुन २ गते पक्राउ परे । यस्तै सुनसरीबाट धरान बस्ने २५ वर्षीय सूर्य राई र भोजपुरका २७ वर्षीय लक्ष्मण राई लागूऔषध गाँजा ४०६ किलो ९४० ग्रामसहित फागुन १ गते पक्राउ परे । 

विगत १५ दिन भित्रै गाँजासहित पक्राउ परेका उल्लेखित व्यक्तिहरू प्रतिनिधि पात्र मात्रै हुन् । ठूलो परिमाणको गाँजासहित पक्राउ पर्नेहरूको सूचि लामो छ । अवैध गाँजाको कारोबारमा संलग्न अभियुक्त पक्राउ संख्या बढ्नुको कारण प्रहरी सक्रियता नै प्रमुख हो । यसले गाँजा कारोबार नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा लागूऔषध गाँजा प्रयोगकर्ता, कारोबारी र ओसार पसारमा संलग्न ५१३ जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये ४५८ जना पुरूष र ५५ जना महिला रहेका छन् । तीमध्ये १४ जना १८ वर्ष मुनिका छन् भने ४९९ जना १८ वर्ष माथिका रहेका छन् । 

पछिल्लो समय गाँजा बोक्न इन्धन बोक्ने गाडी, सेफ्टी ट्याङ्कर तथा एम्बुलेन्स जस्ता शंका नहुने सवारी साधनहरू समेत प्रयोग गर्ने गरेको पाइन्छ । यस प्रति सचेत रहेर प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम तथा कारोबारमा संलग्नलाई कानूनी दायरामा ल्याउन आधुनिक सूचना संयन्त्रको प्रचुर प्रयोग गर्दै नयाँ विधि, प्रविधि र साधन स्रोतको परिचालन गरी विशेष अभियान नै अगाडि बढाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “विशेष गरी नवयुवाहरूलाई लागूऔषध गाँजाको कुलतबाट बचाउन सचेतना आवश्यक छ । आफ्ना नानीहरूलाई कुलतबाट जोगाउन अभिभावक र स्कुलको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि नागरिक समाज पनि सम्वेदनशील भएर लाग्नुपर्ने हुन्छ । गाँजा उत्पादन, बिक्री वितरण वा सेवन गरेको थाहा भएमा प्रहरीलाई खबर गर्न अनुरोध छ । पछिल्ला दिनहरूमा प्रविधिको प्रयोग गर्नुको साथै शंका नहुने ठाउँहरूमा पनि पहुँच पुर्‍याएर लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ ।”    

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा ९ हजार ५७३ किलो २११ ग्राम २७५ मिलिग्राम गाँजा बरामद भएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २० हजार ६६९ किलो ९४१ ग्राम ५११ मिलिग्राम, आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ८२ किलो, ३६३ ग्राम ६५३ मिलिग्राम, आर्थिक वर्ष २०७७/०७८ मा ८ हजार २३४ किलो, ७७४ ग्राम ५४३ मिलिग्राम, आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ३७० किलो, २७३ ग्राम ३९९ मिलिग्राम र आर्थिक वर्ष २०७५/०७६ मा १० हजार ३६२ किलो, ८६६ ग्राम २५५ मिलिग्राम गाँजा बरामद भएको थियो । तथ्याङ्क विश्लेषण गर्दा आर्थिक वर्ष २०७९/०८० मा सबै भन्दा बढि गाँजा बरामद भएको देखिन्छ । 

लागूऔषध कारोबारीले विभिन्न प्रविधि एवम् सामाजिक सञ्जालको प्रयोग गर्दै लागूऔषधको कारोबार समेत गर्ने गरेको पाइएको छ । लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गरी अनलाईन मार्फत कारोबार गर्ने गरेको समेत खुल्न आएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलिया भन्नुहुन्छ, “लागूऔषध गाँजा नियन्त्रण गर्न गाँजा खेती फडानी गरी नष्ट गर्ने, स्थानीय पालिकाहरूसँग समन्वय गरी गाँजा खेतीलाई विस्थापित गर्न वैकल्पिक नगदे बाली, फलफूल, तरकारी खेती गर्न प्रोत्साहन गर्ने गरिएको छ । आकस्मिक चेकजाँच, सुराकी परिचालन, विशेष शंकास्पद ठाउँमा निग्रानी, आम नागरिकसँग निरन्तर सम्पर्क र समन्वय गरी सूचना लिने, लागूऔषध कारोबार हुने विभिन्न नाकामा प्रहरी परिचालन गरी गिरोह पक्राउ गर्ने र अनुसन्धान गरी मुद्दा दायर गर्ने गरिएको छ । सँगसँगै सचेतना कार्यक्रमलाई पनि प्राथमिकतामा राखी विभिन्न ठाउँ र समयमा प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्दै आइरहेका छौं ।” 

ग्रामीण क्षेत्रमा हुने गाँजा खेतीको भरपर्दो अनुगमन प्रणाली नहुनु, यसको प्रयोग र कारोबारको शैली परिवर्तन हुनु, गाँजाको कारोबार विकट ठाउँसम्म पुग्नु जस्ता चुनौति गाँजा नियन्त्रणमा छन् । गाँजाको सहज पहुँच र खुला सिमानाको कारण कारोबार बढ्ने गरेको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “गाँजा खेती, बिक्री वितरण र सेवन खास गरी ग्रामीण भेगमा हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरी टोली खटाई गाँजाका बोट काटि/उखेली नष्ट गर्ने गरिएको छ । सिमानामा निग्रानी बढाइएको छ । गाँजा खेतीमा संलग्न तथा सेवनकर्ताहरूलाई कानूनी प्रावधान, सेवनबाट हुने असर र राष्ट्रलाई पर्ने नकारात्मक असरबारे सचेतना कार्यक्रम गर्ने गरिएको छ ।” 

लागूऔषध नियन्त्रण ऐन, २०३३ ले प्राकृतिक तथा औषधिजन्य लागू पदार्थको खेती, उत्पादन, निर्माण, खरिद-बिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध लगाएको छ । बिना वारेन्ट प्रवेश, खानतलासी, कब्जा र गिरफ्तार गर्न सक्ने प्रावधान छ । लागूऔषध अपराधमा संलग्न व्यक्तिलाई एक महिनादेखि जन्म कैद तथा २५ लाख रूपैयाँ सम्म जरिवानाको व्यवस्था गरेको छ । आर्थिक कारोबारको विवरण माग गर्न सक्ने र सम्पत्ती रोक्का तथा जफत गर्न सक्ने, यस अपराध संग सम्बन्धित कुनै कुरा टेप गर्न वा सेन्सर गर्न सक्ने समेत ऐनमा व्यवस्था गरिएको छ । प्रमाणको भार प्रतिवादीमा रहने, लागूऔषध सम्बन्धी सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था र अनुसन्धान तहकिकात गर्न ९० दिन सम्मको हद म्याद हुने प्रावधान समेत ऐनमा   छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कानून कार्यान्वयन गर्ने निकाय हो । त्यसैले ऐन बमोजिम अपराधीलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय छ । यसबाट अवैध गाँजा कारोबार र सेवन रोकथाममा सफलता मिल्ने अपेक्षा छ ।” 


सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।