प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानमा सक्रिय नेपाल प्रहरी

२०८०-१२-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपालमा केही समय अघिसम्म विलासिताको रूपमा हेरिएका सवारी साधनहरू अहिले जिवनको अत्यावश्यक साधनको रूपमा प्रयोग हुने गरेको छ । त्यसमाथि पनि नेपालजस्तो निम्न र मध्यम स्तरका नागरिक बढी भएको देशमा मोरसाइकलको अत्यधिक प्रयोग भइरहेको छ । जसको कारण मोटरसाइकल खरिद गर्ने क्रम पनि बढेको देखिन्छ । मोटरसाइकलको संख्या बढेसँगै चोरी पनि भइरहेको र अनुसन्धान पनि जारी रहेको छ ।   

काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट ओखलढुंगाका संजोक टोलाङीको मोटरसाइकल चोरी भयो । मोटरसाइकल चोरी भएपछि उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे । तत्काल खोजी तथा अनुसन्धान गर्दै जाँदा काठमाडौं पेप्सीकोलामा मोटरसाइकल फेला पर्‍यो । ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल टोलाङीलाई बुझायो । 

त्यसैगरी ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भयो । उनले ट्राफिक प्रहरीमा उजुरी दिइन् । खोजी तथा अनुसन्धान गर्दै जाँदा ललितपुर चापागाउँमा मोटरसाइकल फेला पर्‍यो । उनलाई पनि ट्राफिक प्रहरीले आवश्यक प्रक्रिया पुर्‍याई मोटरसाइकल बुझायो । 

टोलाङी र घोष जस्तै धेरै जनाको मोटरसाइकल चोरी हुने गरेको छ । यसरी हुने चोरी रोकथाम गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सक्रियता बढाएको छ । पछिल्लो समय चैत १३ गते मात्र उक्त कार्यालयले फेला पारेका  २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । हराएर पाउने आशा मारेको मोटरसाइकल पाएपछि उनीहरू सबैले खुसी हुँदै ट्राफिक प्रहरीलाई हस्तान्तरण कार्यक्रममै भावुक हुँदै धन्यवाद दिए । 

यस सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारिएको छ । विशेष योजना र कार्यक्रमहरू तयार गरी सुक्ष्म तरिकाले निग्रानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गर्ने गरिएकोले चोरी भएका मोटरसाइकल पत्ता लगाई सम्बन्धित धनीलाई बुझाउन सफलता मिलेको छ ।” 

चालू आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको तथ्याङ्कले देखाएको छ । तीमध्ये ३ सय ७४ वटा मोटरसाइकल फेला परेका छन् । फेला परेका मोटरसाइकलमध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ । बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको छ ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५५१ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६०४ वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये ५०६ वटा मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई ४३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो ।

मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा मोटरसाइकल बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानूनी कारबाही गरिन्छ । चोरी हुनबाट सचेत गराउन समय समयमा सचेतनामूलक पर्चा वितरण तथा कार्यक्रम संचालन गर्ने गरिन्छ । धेरै जसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको छ । 

यस सम्बन्धमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “चोरी भएका सवारी साधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ । युनिटले तत्कालै परिचालित भई के-कस्तो सवारीसाधन कहाँबाट चोरी भयो ? विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरू गर्छ । छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ । यसप्रकार खोजतलास, निग्रानी, अनुसन्धानको क्रममा फेला परेका सवारीसाधन र पक्राउ परेका मानिसलाई कानुन बमोजिम कारबाही हुन्छ ।” प्रहरीको चेकजाँचको कारण कतिपय डराएर एकान्त ठाउँमा मोटरसाइकल छोडेर हिड्ने गरेका छन् भने कतिपय भाग्दा भाग्दै पक्राउ पर्ने गरेका छन् ।  

चोरीका मोटरसाइकलको पाटपूर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लाग्ने गरेको छ । चोरी हुन नदिन सम्बन्धित धनी नै चनाखो हुनु बुद्धिमानी हो । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “चोरी हुनबाट बच्न ह्‍विललक, डिसलक, ब्रेकलक, फ्युललक लगाउनु राम्रो हुन्छ । सम्भव भएसम्म जिपिएस ट्रयाकर लगायतका उपकरणको जडान गरी मोटरसाइकल चोरी हुनबाट सुरक्षित रहन सकिन्छ ।” 


सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।