प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वास्थ्य सेवामा निरन्तर प्रतिबद्ध नेपाल प्रहरी अस्पताल

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको नेपाल प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको छ । अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको छ । अस्पताल ४ दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ । बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारहरूको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालबाट हाल आकस्मिक, बहिरङ, अन्तरङ (बेड भर्ना), भिजिटिङ कन्सल्टेण्ट सेवा, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले १ लाख ८० हजार ६५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसमध्ये बहालवाला प्रहरी ६१ हजार ६०४ जना, प्रहरी परिवार ६२ हजार ८९३ जना, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार २२५ जना, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार ५९८ जना र सर्वसाधारण १० हजार ३३८ जना रहेका छन् । 

अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको छ । हाल नेपाल प्रहरी अस्पताल महाराजगंज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँके, गण्डकी प्रदेश प्रहरी  अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रूपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट सेवा प्रदान भइरहेको छ । अस्पतालले स्वास्थ्य सेवा विस्तार र स्तरोन्नतिमा विशेष ध्यान दिँदै आएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भई कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ ।” 

सो अवधिमा अस्पतालको सेवाबाट मेडिकलतर्फ ४९ हजार २९ जना, फिजियोथेरापीतर्फ १५ हजार ७२२ जना, सर्जिकलतर्फ ९ हजार ९१ जना, अर्थोपेडिकतर्फ १६ हजार ७०१ जना, गाइनोतर्फ १४ हजार १५० जना, पेड्रिएटिकतर्फ ६ हजार ६७६ जना, स्किनतर्फ ८ हजार ४० जना, नाक-कान-घाँटीतर्फ ८ हजार ३३९ जना,  आँखातर्फ ६ हजार ९७९ जना, डेन्टलतर्फ १५ हजार १६५ जना, मानसिकतर्फ ५ हजार ५१३ जना, न्यूरोतर्फ ७२८ जना, अङ्कोलोजीतर्फ २८५ जना, टेलिमेडिसिनतर्फ ४३ जना, कार्डियोतर्फ १ हजार ३४२ जना, ड्रेसिङतर्फ ७ हजार ७४७ जना, इमरजेन्सीतर्फ ९ हजार ४१५ जना लाभाञ्वित भएका   छन् । यसैगरी यी बाहेक अस्पतालका अन्य विविध सेवाबाट समेत सेवाग्राही लाभाञ्वित भएका छन् ।  

अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा १ हजार ७ जना प्रहरी कर्मचारी हाल कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न कर्मचारीहरूले अथक मेहनत र प्रयास जारी राखेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।” 

अस्पतालको उपचार बहालवाला कर्मचारीहरूलाई नि:शुल्क छ भने अन्यको लागि न्यून शुल्क कायम गरिएको छ । साथै सर्वसाधारणका लागि अन्य सरकारी अस्पताल सरह र कुनै सेवा त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको छ ।

अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह भन्नुहुन्छ, “अस्पतालमा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गरी अस्पतालबाट प्रदान हुने सेवालाई आधुनिक प्रविधियुक्त र उत्तरदायी बनाउन अस्पताल प्रशासन कटिबद्ध छ ।”

अस्पतालले नियमित सेवाको साथै अस्पतालको पहुँच कठिन भएका विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्‍याउन समय-समयमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यस्ता शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार नि:शुल्क औषधी समेत वितरण गर्ने गरिएको छ । यसबाट समाजमा अस्पतालप्रति सकारात्मक सन्देश जानुका साथै ठूलो संख्यामा सेवाग्राही लाभाञ्वित भएका छन् ।

सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।