स्वास्थ्य सेवामा निरन्तर प्रतिबद्ध नेपाल प्रहरी अस्पताल
२०८०-१२-२३
- A
- A-
- A+
काठमाडौं, विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको नेपाल प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको छ । अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको छ । अस्पताल ४ दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ । बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारहरूको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालबाट हाल आकस्मिक, बहिरङ, अन्तरङ (बेड भर्ना), भिजिटिङ कन्सल्टेण्ट सेवा, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले १ लाख ८० हजार ६५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसमध्ये बहालवाला प्रहरी ६१ हजार ६०४ जना, प्रहरी परिवार ६२ हजार ८९३ जना, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार २२५ जना, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार ५९८ जना र सर्वसाधारण १० हजार ३३८ जना रहेका छन् ।
अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको छ । हाल नेपाल प्रहरी अस्पताल महाराजगंज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँके, गण्डकी प्रदेश प्रहरी अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रूपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट सेवा प्रदान भइरहेको छ । अस्पतालले स्वास्थ्य सेवा विस्तार र स्तरोन्नतिमा विशेष ध्यान दिँदै आएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भई कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ ।”
सो अवधिमा अस्पतालको सेवाबाट मेडिकलतर्फ ४९ हजार २९ जना, फिजियोथेरापीतर्फ १५ हजार ७२२ जना, सर्जिकलतर्फ ९ हजार ९१ जना, अर्थोपेडिकतर्फ १६ हजार ७०१ जना, गाइनोतर्फ १४ हजार १५० जना, पेड्रिएटिकतर्फ ६ हजार ६७६ जना, स्किनतर्फ ८ हजार ४० जना, नाक-कान-घाँटीतर्फ ८ हजार ३३९ जना, आँखातर्फ ६ हजार ९७९ जना, डेन्टलतर्फ १५ हजार १६५ जना, मानसिकतर्फ ५ हजार ५१३ जना, न्यूरोतर्फ ७२८ जना, अङ्कोलोजीतर्फ २८५ जना, टेलिमेडिसिनतर्फ ४३ जना, कार्डियोतर्फ १ हजार ३४२ जना, ड्रेसिङतर्फ ७ हजार ७४७ जना, इमरजेन्सीतर्फ ९ हजार ४१५ जना लाभाञ्वित भएका छन् । यसैगरी यी बाहेक अस्पतालका अन्य विविध सेवाबाट समेत सेवाग्राही लाभाञ्वित भएका छन् ।
अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा १ हजार ७ जना प्रहरी कर्मचारी हाल कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न कर्मचारीहरूले अथक मेहनत र प्रयास जारी राखेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।”
अस्पतालको उपचार बहालवाला कर्मचारीहरूलाई नि:शुल्क छ भने अन्यको लागि न्यून शुल्क कायम गरिएको छ । साथै सर्वसाधारणका लागि अन्य सरकारी अस्पताल सरह र कुनै सेवा त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको छ ।
अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह भन्नुहुन्छ, “अस्पतालमा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गरी अस्पतालबाट प्रदान हुने सेवालाई आधुनिक प्रविधियुक्त र उत्तरदायी बनाउन अस्पताल प्रशासन कटिबद्ध छ ।”
अस्पतालले नियमित सेवाको साथै अस्पतालको पहुँच कठिन भएका विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्याउन समय-समयमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यस्ता शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार नि:शुल्क औषधी समेत वितरण गर्ने गरिएको छ । यसबाट समाजमा अस्पतालप्रति सकारात्मक सन्देश जानुका साथै ठूलो संख्यामा सेवाग्राही लाभाञ्वित भएका छन् ।