प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्वास्थ्य सेवामा निरन्तर प्रतिबद्ध नेपाल प्रहरी अस्पताल

२०८०-१२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको नेपाल प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको छ । अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको छ । अस्पताल ४ दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ । बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारहरूको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालबाट हाल आकस्मिक, बहिरङ, अन्तरङ (बेड भर्ना), भिजिटिङ कन्सल्टेण्ट सेवा, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले १ लाख ८० हजार ६५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसमध्ये बहालवाला प्रहरी ६१ हजार ६०४ जना, प्रहरी परिवार ६२ हजार ८९३ जना, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार २२५ जना, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार ५९८ जना र सर्वसाधारण १० हजार ३३८ जना रहेका छन् । 

अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको छ । हाल नेपाल प्रहरी अस्पताल महाराजगंज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँके, गण्डकी प्रदेश प्रहरी  अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रूपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट सेवा प्रदान भइरहेको छ । अस्पतालले स्वास्थ्य सेवा विस्तार र स्तरोन्नतिमा विशेष ध्यान दिँदै आएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भई कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ ।” 

सो अवधिमा अस्पतालको सेवाबाट मेडिकलतर्फ ४९ हजार २९ जना, फिजियोथेरापीतर्फ १५ हजार ७२२ जना, सर्जिकलतर्फ ९ हजार ९१ जना, अर्थोपेडिकतर्फ १६ हजार ७०१ जना, गाइनोतर्फ १४ हजार १५० जना, पेड्रिएटिकतर्फ ६ हजार ६७६ जना, स्किनतर्फ ८ हजार ४० जना, नाक-कान-घाँटीतर्फ ८ हजार ३३९ जना,  आँखातर्फ ६ हजार ९७९ जना, डेन्टलतर्फ १५ हजार १६५ जना, मानसिकतर्फ ५ हजार ५१३ जना, न्यूरोतर्फ ७२८ जना, अङ्कोलोजीतर्फ २८५ जना, टेलिमेडिसिनतर्फ ४३ जना, कार्डियोतर्फ १ हजार ३४२ जना, ड्रेसिङतर्फ ७ हजार ७४७ जना, इमरजेन्सीतर्फ ९ हजार ४१५ जना लाभाञ्वित भएका   छन् । यसैगरी यी बाहेक अस्पतालका अन्य विविध सेवाबाट समेत सेवाग्राही लाभाञ्वित भएका छन् ।  

अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा १ हजार ७ जना प्रहरी कर्मचारी हाल कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न कर्मचारीहरूले अथक मेहनत र प्रयास जारी राखेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।” 

अस्पतालको उपचार बहालवाला कर्मचारीहरूलाई नि:शुल्क छ भने अन्यको लागि न्यून शुल्क कायम गरिएको छ । साथै सर्वसाधारणका लागि अन्य सरकारी अस्पताल सरह र कुनै सेवा त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको छ ।

अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह भन्नुहुन्छ, “अस्पतालमा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गरी अस्पतालबाट प्रदान हुने सेवालाई आधुनिक प्रविधियुक्त र उत्तरदायी बनाउन अस्पताल प्रशासन कटिबद्ध छ ।”

अस्पतालले नियमित सेवाको साथै अस्पतालको पहुँच कठिन भएका विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्‍याउन समय-समयमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यस्ता शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार नि:शुल्क औषधी समेत वितरण गर्ने गरिएको छ । यसबाट समाजमा अस्पतालप्रति सकारात्मक सन्देश जानुका साथै ठूलो संख्यामा सेवाग्राही लाभाञ्वित भएका छन् ।

सम्बन्धित समाचार
विपद् उद्धार कार्य तथा सडक व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी
२०८३-०६-१२

काठमाडौं, प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियताका साथ गरिरहेको छ । यसका साथै विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिरहेको छ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।  बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको छ । साथै विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् । वर्षा कम भएसँगै केही स्थानमा सडक एकतर्फी सुचारू भइसकेको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।बाढी पहिरोका कारण कान्थिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (बेनीघाट खण्ड-धादिङ र घाँसीकुवा सडकखण्ड-तनहुँ), पृथ्वी लोकमार्ग (धादिङ),  रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग, हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), मध्यपहाडी लोकमार्ग (बागलुङ, लमजुङ), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व, गुल्मी), चामे-बेसीशहर सडकखण्ड (मनाङ, लमजुङ), बेनी-जोमसोम सडकखण्ड (म्याग्दी), बेनीदरबाङ सडकखण्ड (म्याग्दी), जोमसोम कोरोला सडकखण्ड (मुस्ताङ), मालढुंगा बेनी सडकखण्ड (पर्वत), घोराही थवाङ रूकुम शहिदमार्ग (रोल्पा), मदन भण्डारी राजमार्ग (रोल्पा), रूद्रबिनि वामीटक्सार सडकखण्ड (गुल्मी), तुलसी घोराही सडकखण्ड (दाङ), गाईघाट वालिङ सडकखण्ड (पाल्पा), सिदार्थ राजमार्ग (पाल्पा), ढोरपाटन सडकखण्ड (अर्घाखाँची), कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म गम्गढी सडकखण्ड (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) लगायतका राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरोध भएका छन् ।     यसैगरी पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड), मध्यपहाडी लोकमार्ग (पर्वत तामादी खोलाखण्ड) र बिपी राजमार्ग (काभ्रे) एकतर्फी सुचारू भएको छ भने सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर), मध्यपहाडी लोकमार्ग (भोजपुर), टोखा छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।   प्रहरीले अवरूद्ध भएका देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू अन्य निकाय तथा स्थानीयबासीको समन्वय र सहयोगमा उपकरणसहित सडक सुचारू गर्न र पहिरो पन्छाउन निरन्तर खटिरहेका छन् । यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट सडकको ताजा अवस्था बुझ्न नेपाल प्रहरी अनुरोध समेत गर्दछ ।  

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु
२०८३-०६-१०

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

विपद् पश्चात नागरिकको दैनिकीलाई सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय
२०८३-०५-२९

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडो भन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनसंचालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी वहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कुल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्‍बाट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’  भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका बासिन्दा विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका बसिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श (Psychosocial Counseling) सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय ९६ वटा कार्यक्रम मार्फत ४७ हजार ७ सय ७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।  T2T(TIMURE TO TRIVENI) Operation अप्रेशन समेत संचालन गरी प्रहरीले विपद् पश्चातको विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ ।  स्थानीय बासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’ प्रहरीको यो निरन्तर प्रयासले त्यहाँका बासिन्दाहरूमा हौसला जगाएको छ र उनीहरूले थोरै भएपनि राहत महसुस गरिरहेका छन् ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन T2T(TIMURE TO TRIVENI) Operation संचालन
२०८३-०५-२६

काठमाडौं,  भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले T2T(TIMURE TO TRIVENI) Operation संचलानमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ । T2T अप्रेशनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागि परेको छ ।बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराई रहेका मानिस जिवित हुनसक्ने संभावनालाई विशेष प्राथमिकतामा राखेर उद्दार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरिरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रकृयहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रकृयाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहन्छ, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।  कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ ।  प्रहरीले T2T अप्रेशन संचालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको  छ ।’ बाढी प्रभावित विभिन्न जिल्लाहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरी परिचालन     बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरीले सक्रियता बढाएको छ । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन, आवश्यक कानुनी प्रकृया पूरा गरी जमिन मुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ । भौगोलिक विकटकताका कारण उद्दारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुईन मार्फत सर्वसाधरणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।  प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम संचालन, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील छ । बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै T2T अप्रेशनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ । 

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ ।