प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं,  घटना: १   

२०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उनलाई सोही संगठनको गुम्बामा राखियो । ती फिनिस नागरिक  मङ्सिर २९ गते गुम्बाबाट भागेको खबर प्राप्त भयो । तत्काल खटिएको पर्यटक प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ठमेलमा फेला पारी उद्दार गर्‍यो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालस्थित फिनल्याण्ड दूतावास र ती विदेशी नागरिककी आमासँगको समन्वयमा एअर इन्डियाको उडानद्वारा स्वदेश फिर्ता पठाइयो ।

घटना: २

२०८० चैत १४ गते बेलायती नागरिक ६५ वर्षीया टेरे जुवानिता बटलर भिषा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बसिरहेको अवस्थामा पर्यटक प्रहरीले काठमाडौं बौद्धमा फेला पार्‍यो । उनको सन् २०२२ अक्टोबर २७ मा भिसा समाप्त भइसकेको रहेछ । उनी भिसा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बस्दै आइरहेको पुष्टि भयो । उनलाई पर्यटक प्रहरीले आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा बुझायो । 

* * * * * *

यी दुई विदेशी नागरिकको घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी अलपत्रमा परेका तथा बिरामी भएका १२ जना विदेशी नागरिकलाई चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा पर्यटक प्रहरीले उद्दार गरी स्वदेश फिर्ता पठाएको छ । यसै गरी सो अवधिमा गैह्रकानुनी रुपमा नेपालमा बसेका ८ जना विदेशी नागरिकलाई आवश्यक कारबाहीका लागि पर्यटक प्रहरीले अध्यागमन विभाग बुझाएको छ । 

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको सेवा, सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउने उदेश्य सहित विसं २०३५ माघ १२ गते पर्यटक प्रहरीको स्थापना भएको हो । नेपाल प्रहरीको विशेष इकाईको रुपमा रहेको पर्यटक प्रहरी हाल काठमाडौं उपत्यकाको १० ठाउँमा र उपत्यका बाहिर १२ जिल्लाका १९ ठाउँमा विस्तार भई काम गर्दै आएको छ ।

पर्यटक प्रहरीको सेवा विस्तार र भावी रणनीतिका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “पर्यटक प्रहरीले गरेको कामको देश विदेशमा समेत प्रशंसा भइरहेको छ । पर्यटकसँग सम्बन्धित मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म सम्पूर्ण अनुसन्धान गर्न सक्ने पर्यटक प्रहरी कार्यालयको रुपमा विकसित गर्दै लैजाने नेपाल प्रहरीको नीति छ । प्रमुख पर्यटकीय स्थलको पहिचान र अपराधको विश्‍लेषण गरी प्राथमिकता अनुसार क्रमश: पर्यटक प्रहरीको स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाइने नीति छ । भौतिक संरचना व्यवस्थापन, समयानुकूल प्रविधिमैत्री सेवा, दोहोरो वार्तालापका लागि भाषागत व्यवस्था र तुरुन्त परिचालनका लागि थप सवारी साधनको व्यवस्था गर्न प्रहरी संगठन लागीपरेको छ ।”

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित ३७० वटा उजूरीहरु परेका छन् । ती मध्ये सामग्री हराएका २७३ वटा, चोरीका ४९ वटा, ठगी गरेका ११ वटा, लुटपाट ५ वटा, अभद्र व्यवहार १७ वटा, आक्रमणका २ वटा, दुर्घटनाका २ वटा, धाकधम्की १ वटा, मानिस हराएको ४ वटा, दुर्व्यवहार १ वटा र अपहरणका १ वटा रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ७९ वटा, आर्थिक वर्ष २०७८/०७९ मा १८० वटा र आर्थिक वर्ष २०७९/०८० मा ५३२ उजूरी परेका थिए । यी आर्थिक वर्षको तथ्याङ्क विश्‍लेषण गर्दा डकुमेन्ट र सामग्री हराएको संख्या सबैभन्दा बढी देखिन्छ । 

पर्यटक प्रहरीले पर्यटकहरूलाई पर्न आएका समस्या, दु:ख, पिरमर्का, हैरानी तथा गुनासाहरू समयमै समाधान गर्ने गर्दछ । पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भयरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्‍याउन पर्यटक प्रहरी सक्रिय छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ, “पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्‍लिल तथा अवाञ्क्षित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ । घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा सहासिक पर्यटनका क्रममा स्वास्थ्य लगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्दार गरी सम्बन्धित निकाय, दूतावास वा आफन्तसँग सम्पर्क गर्ने/गराउने र पर्यटन क्षेत्रमा आईपर्ने हरेक कार्य सक्रिय भई सम्पन्न गर्दै आएका   छौं ।”

विरानो देशमा आउँदा अचानक आइपर्ने यस्ता समस्या र गुनासोहरू पर्यटक प्रहरीबाट तत्काल सुनुवाई भई समाधान हुने गरेको छ । यस्ता समस्या भएमा हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटक प्रहरीको छिटोछरितो, आत्मिय र सुरक्षित सेवाबाट पर्यटकहरू खुसी हुने गरेका छन् । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको  छ । सम्पूर्ण पर्यटक प्रहरी कार्यालयहरूको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।” पर्यटन सम्बद्ध सरोकारवालाहरूसँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

सम्बन्धित समाचार
रसुवा बाढी : हालसम्म ४ सय ८९ जनाको मृत्यु
२०८३-०५-१२

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १२:०० बजे सम्म ४ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, चितवनमा १ सय ८६ जना, गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जना र नवलपरासी पश्‍चिम २८ जना गरी ४ सय ८९ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।  

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

रसुवा बाढी : नेपाल प्रहरी अस्पतालबाट चिकित्सक टोली त्यसतर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयारी हालतमा
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३) को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्री सहित रसुवातर्फ प्रस्थान गरिसकेको छ । साथै घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्ति सहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।   यसैगरी बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।  नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको छ । 

रसुवा बाढी : हालसम्म १८ जनाको मृत्यु
२०८३-०५-१०

काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो १५: ४५ बजे सम्म १८ जनाको मृत्यु भएको छ । जसमध्ये रसुवामा १ जना पुरूष, नुवाकोटमा ३ जना महिला र ४ जना पुरूष गरी ७ जना, धादिङमा ३ जना महिला, २ जना पुरूष र १ जना पहिचान नखुलेको गरी ६ जना एवम् गोरखामा २ जना पुरूष र २ जना पहिचान नखुलेको गरी ४ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।