प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चालु आर्थिक वर्षमा नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान

२०८०-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । अधिकांश तालिम संगठनभित्रकै  विभिन्न तालिम प्रदायक युनिटहरूले संचालन गर्दछन् भने कतिपय संगठन बाहिरका संघ-संस्थासँग समन्वय गरी तालिम दिलाइने गरिएको छ ।   

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा नेपाल प्रहरीका जम्मा २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । जसमध्ये राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ५ हजार ४२७ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट ९ सय ३८ जना, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट ६ सय ६२ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीबाट ८ सय २२ जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ७ सय ९४ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट ९ सय ७३ जना, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगंजबाट १ हजार १०८ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ९ सय ९६ जना र घुम्ती प्रशिक्षण तालिमतर्फ ९ हजार ८६७ जना रहेका छन् । यसै गरी संघ-संस्थातर्फ १ हजार ७७५ जना र वैदेशिक तालिम ३११ जना रहेका छन् । यस आर्थिक वर्षमा कूल लक्षित संख्या २८ हजार १२४ रहेको छ भने घुम्तीतर्फ ११ हजार ९७० रहेको छ । सो अवधिमा आधारभूत तालिम ३ हजार ४६० जना, व्यवस्थापन तालिम १ हजार २८५ जना, कार्य तालिम १ हजार ८७७ जना, अपराध अनुसन्धान तालिम २ हजार ४७१ जना, सुरक्षा तालिम १ हजार ६०५ र उन्नत प्राविधिक तथा अन्य गरी १ हजार २२ जनाले तालिम हासिल गरेका छन् ।  

नेपाल प्रहरीले तालिमको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको ज्ञान सीपको विकास गर्ने र कार्य क्षमता अभिवृद्धि गराउन यस्ता तालिम प्रदान गर्ने गर्छ । तालिम प्रदान गर्ने सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “हरेक कार्यालयको कामको प्रकृति अनुसार सम्बन्धित कर्मचारीलाई नै तालिम प्रदान गर्ने गरिएको छ । अनुशासित एवम् कर्तव्यनिष्ठ भई देश र जनताप्रति बफादार रहेर काम गर्न तालिमले सघाउ पुर्‍याउने गर्दछ । प्रहरीको आचरण व्यवहारलाई जनमैत्री, सेवामुखी एवम् चुस्तदुरूस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्वारा ज्ञान, सीप र कार्य कौशलता प्रदान गर्ने गरिएको छ । तालिमको दौरानमा मानव अधिकारको संरक्षणको लागि मानव अधिकारका मापदण्डहरूप्रति सम्मान र विश्वास राख्दै कार्यक्षेत्रमा काम गर्नेगरी प्रशिक्षण प्रदान गरिन्छ ।”

संगठनका सदस्यहरूलाई समान अवसर जुट्ने गरी तालिमको व्यवस्था हुने गर्छ । चालु आर्थिक वर्षको उक्त अवधिमा स्वदेशका विभिन्न संघ-संस्थाबाट जम्मा १ हजार ७७५ जना प्रहरी कर्मचारीले तालिम हासिल गरेका छन् । जस मध्ये प्रहरी अतिरिक्त महानिरीक्षक १ जना, प्रहरी नायव महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १६ जना, प्रहरी उपरीक्षक २१ जना, प्रहरी नायव उपरीक्षक ८१ जना, प्रहरी निरीक्षक २६५ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक १५४ जना, प्रहरी नायव निरीक्षक १४४ जना, प्रहरी सहायक निरीक्षक ३०५ जना, प्रहरी वरिष्ठ हवल्दार ६७ जना, प्रहरी हवल्दार १७० जना, प्रहरी सहायक हवल्दार १७७ जना र प्रहरी जवान ३७३ जना रहेका छन् ।

प्रहरी कर्मचारीहरूलाई तालिममा छनौट तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखाबाट हुने   गर्छ । तालिम प्रदान तथा व्यवस्थापन सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले भन्नुहुन्छ, “नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ मा व्यवस्था भएबमोजिम योजनाबद्ध रूपमा तालिम संचालन तथा व्यवस्थापन गर्ने गरिएको छ । साथै तालिमलाई थप विधि र पद्धतिमा लैजानको लागि तालिम आवश्यकता पहिचान गरी तालिम क्यालेन्डर निर्माण मार्फत तालिम संचालन गर्ने गरिएको छ ।” 

नेपाल प्रहरीले अन्य देशका प्रहरी संगठन तथा तालिम प्रदायक संस्थाबाट तालिम प्राप्त हुने गरेको छ । यसबाट सम्बन्धित देशको तालिम प्रणाली, ज्ञान, सीप र अनुभवबारे जानकारी हुने गरेको छ । नेपाल प्रहरी शुरूदेखि हालसम्म वैदेशिक तालिमतर्फ जम्मा ६९ देशमा गरी ४ हजार ५२० वटा तालिममा सहभागी भएको छ । ती तालिममा शुरूदेखि हालसम्मका प्रहरी महानिरीक्षक ३४ पटक, प्रहरी अतिरिक्त महानिरीक्षक १०५ पटक, प्रहरी नायव महानिरीक्षक २७७ पटक,  प्रहरी वरिष्ठ उपरीक्षक ४१० पटक, प्रहरी उपरीक्षक ५७६ पटक, प्रहरी नायव उपरीक्षक ९०३ पटक, प्रहरी निरीक्षक १ हजार २८२ पटक, प्रहरी वरिष्ठ नायव निरीक्षक १५ पटक, प्रहरी नायव निरीक्षक ५६२ पटक, प्रहरी सहायक निरीक्षक २७० पटक, प्रहरी हवल्दार ३२ पटक र प्रहरी जवान ५४ पटक सहभागी भएका छन् । 

प्रहरी संगठनको मूल्य, मान्यता र अनुशासनलाई कायम राख्दै जनअपेक्षा अनुसार सेवा उपलब्ध गराउन सक्ने दक्ष, सक्षम, सु-प्रशिक्षित एवम् सेवामुखी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी सक्रिय छ । प्रशिक्षणको दौरानमा नियमित अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रशिक्षार्थीहरूको व्यक्तिगत क्षमतालाई प्रस्फुटन गराई नेतृत्व क्षमताको विकास गर्न उद्देश्यसहित तालिम प्रदान गर्ने गरिएको छ । यसका लागि निरन्तर उच्च गुणस्तरीय प्रहरी प्रशिक्षण प्रदान हुने गर्छ । प्रहरी नायव महानरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रशिक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तालिम प्रदायक युनिटहरूको भौतिक सुधार, तालिम पाठ्यक्रम परिमार्जन र दक्ष प्रशिक्षकको व्यवस्थामा ध्यान दिएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० मा तालिमलाई व्यवस्थित बनाउन निर्देश गरिएको छ ।” 

तालिम केन्द्रहरूले ज्ञान, कर्म, कौशलको मान्यता अनुसार प्रशिक्षण प्रदान गर्ने गर्दछन् । सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका सबै प्रहरी कार्यमा सैद्धान्तिक, व्यवसायिक एवम् पेशागत कौशलता अभिवृद्धिको लागि ध्यान दिइन्छ । जिम्मेवारी बोधसहित कुशल र निपूर्ण जनशक्तिको विकास हुनसके कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम हुने विश्वास छ । अब्राहम लिंकनले भनेका थिए, “मलाई रूख ढाल्न छ घण्टा देऊ र म पहिलो चार घन्टा बन्चरो उदाउन लगाउने छु ।” 

 

सम्बन्धित समाचार
विपद् उद्धार कार्य तथा सडक व्यवस्थापनमा सक्रिय नेपाल प्रहरी
२०८३-०६-१२

काठमाडौं, प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियताका साथ गरिरहेको छ । यसका साथै विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिरहेको छ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ३१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १० जना, मनाङमा ४ जना, म्याग्दीमा ६ जना, पाल्पामा ५ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् ।  बाढी, पहिरो लगायतका विपद्‍मा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै १ हजार ६ सय ४ जनाको उद्धार गरिएको छ । साथै १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढी पहिरोका कारण १ सय ६८ वटा घर, २० वटा गोठ, ४ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा १ सय १३ वटा पशु चौपायको मृत्यु भएको छ । साथै विपद्‍का घटनाबाट २ हजार ३ सय २२ घर परिवार विस्थापित भएका छन् । वर्षा कम भएसँगै केही स्थानमा सडक एकतर्फी सुचारू भइसकेको छ भने अन्य धेरै स्थानमा सडक अझै पनि पूर्ण रूपमा बन्द रहेका छन् ।बाढी पहिरोका कारण कान्थिलोकपथ (टाकुर्चे र पाङ्दुर खण्ड), पृथ्वी राजमार्ग (बेनीघाट खण्ड-धादिङ र घाँसीकुवा सडकखण्ड-तनहुँ), पृथ्वी लोकमार्ग (धादिङ),  रसुवा र नुवाकोट जिल्लाका मुख्य राजमार्ग, हेटौंडा-भैंसे-भीमफेदी फाखेल-काठमाडौं सडक (महालक्ष्मी खोला नजिक), नारायणगढ-मुग्लिङ सडकखण्ड (चितवन), मध्यपहाडी लोकमार्ग (बागलुङ, लमजुङ), कालीगण्डकी कोरिडोर (बागलुङ, नवलपरासी पूर्व, गुल्मी), चामे-बेसीशहर सडकखण्ड (मनाङ, लमजुङ), बेनी-जोमसोम सडकखण्ड (म्याग्दी), बेनीदरबाङ सडकखण्ड (म्याग्दी), जोमसोम कोरोला सडकखण्ड (मुस्ताङ), मालढुंगा बेनी सडकखण्ड (पर्वत), घोराही थवाङ रूकुम शहिदमार्ग (रोल्पा), मदन भण्डारी राजमार्ग (रोल्पा), रूद्रबिनि वामीटक्सार सडकखण्ड (गुल्मी), तुलसी घोराही सडकखण्ड (दाङ), गाईघाट वालिङ सडकखण्ड (पाल्पा), सिदार्थ राजमार्ग (पाल्पा), ढोरपाटन सडकखण्ड (अर्घाखाँची), कर्णाली राजमार्ग (कालिकोट), कर्णाली कोरिडोर (हुम्ला), नाग्म गम्गढी सडकखण्ड (मुगु), भेरी कोरिडोर (डोल्पा) र महाकाली राजमार्ग (बैतडी) लगायतका राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरोध भएका छन् ।     यसैगरी पृथ्वी राजमार्ग (कृष्णभीर खण्ड), मध्यपहाडी लोकमार्ग (पर्वत तामादी खोलाखण्ड) र बिपी राजमार्ग (काभ्रे) एकतर्फी सुचारू भएको छ भने सिद्धिचरण लोकमार्ग (सोलुखुम्बु र उदयपुर), मध्यपहाडी लोकमार्ग (भोजपुर), टोखा छहरे सडकखण्ड (नुवाकोट) मा रात्रीकालीन आवतजावतमा पूर्णरूपमा रोक लगाइएको छ ।   प्रहरीले अवरूद्ध भएका देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डहरू अन्य निकाय तथा स्थानीयबासीको समन्वय र सहयोगमा उपकरणसहित सडक सुचारू गर्न र पहिरो पन्छाउन निरन्तर खटिरहेका छन् । यात्रामा निस्कनुअघि नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आधिकारिक फेसबुक पेजबाट सडकको ताजा अवस्था बुझ्न नेपाल प्रहरी अनुरोध समेत गर्दछ ।  

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु
२०८३-०६-१०

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी बागमती प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी २ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै ४ सय ७ जनाको उद्दार गरिएको छ । यसका साथै प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गरिरहेको छ ।

विपद् पश्चात नागरिकको दैनिकीलाई सहज बनाउन नेपाल प्रहरी निरन्तर सक्रिय
२०८३-०५-२९

काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर जनजीवनलाई चाँडो भन्दा चाँडो सामान्य बनाउन निरन्तर रूपमा खटिरहेको छ ।नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन बाढी प्रभावित क्षेत्रमा ढुंगामाटो हटाउने, घरका भग्नावशेष सफा गर्ने, विद्यालय एवम् स्वास्थ्य संस्थाहरू लगायतका सार्वजनिक महत्वका भवनहरू सरसफाई गरी पुनसंचालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखेर प्रहरीले जिम्मेवारी वहन गरिरहेको छ । प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै तीव्र रूपमा काम गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी प्रभावित क्षेत्रहरूमा नागरिकको जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरी थप क्रियाशील भएर लागि परेको छ । पीडितहरूको घर सफा गर्ने, भग्नावशेषबाट भेटिएका नागरिकका धनमाल सम्बन्धित धनीलाई बुझाउने, स्कुल, स्वास्थ्य संस्थाहरूमा जम्मा भएका ढुंगामाटो हटाउन नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । यस विषम परिस्थितिमा नागरिकको सुरक्षा, विपद्‍बाट सिर्जित मनोवैज्ञानिक त्रास समेतलाई मध्यनजर गरी नागरिकलाई सामान्य जीवनयापनमा फर्काउन नेपाल प्रहरी प्रयासरत छ ।’  भोटेकोशी बाढीले भौतिक तथा मानवीय क्षति मात्र नभई प्रभावित क्षेत्रका बासिन्दा विशेष गरी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरूमा गम्भीर मनोवैज्ञानिक त्रास समेत सिर्जना गरेको छ । बाढीमा घर, परिवार र सम्पत्ति गुमाउँदा प्रभावित क्षेत्रका बसिन्दाहरूमा मानसिक तनाव उत्पन्न हुन सक्ने जोखिमलाई समेत ध्यानमा राखेर पीडितहरूलाई मनोपरामर्श (Psychosocial Counseling) सेवा प्रवाह गर्दै उनीहरूको दैनिक जीवनयापनमा समेत सहजीकरण गरिरहेको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत स्थानीय समुदाय विशेष गरी महिला, बालबालिका युवा, स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै नागरिकलाई पुन:स्थापनमा सहजीकरण गर्न प्रहरीले महत्वपूर्ण भूमिका खेलिरहेको छ । बाढी प्रभावित क्षेत्र अन्तर्गत विभिन्न जिल्लाहरूका होल्डिङ सेन्टर लगायत अन्य स्थानहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू विरूद्ध हुन सक्ने दुर्व्यवहार, हिंसा लगायतका घटना प्रति थप संवेदनशील भई कार्य गर्नुका साथै उद्दार गरिएका व्यक्तिहरूलाई पारदर्शी राहत वितरणमा स्थानीय तह एवम् सरोकारवाला निकायसँग समन्वय गर्दै व्यवस्थित रूपमा कार्य गरिरहेको छ ।बाढी प्रभावित जिल्लाहरूमा हालसम्म समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ सय ९६ वटा कार्यक्रम मार्फत ४७ हजार ७ सय ७४ जना व्यक्तिहरू लाभान्वित भएका छन् ।  T2T(TIMURE TO TRIVENI) Operation अप्रेशन समेत संचालन गरी प्रहरीले विपद् पश्चातको विभिन्न व्यवस्थापन कार्य गरिरहेको छ ।  स्थानीय बासिन्दा अझै पनि त्रास र चिन्तामा छन् । एक स्थानीय महिला भन्छिन, ‘बाढीले धेरैको घरहरू बगायो । केही  घरहरू माटोले पुरिएका छन् । हामी घरहरू खोतल्दै गर्दा प्रहरीहरू आएर हामीलाई हिलो सरसफाई अनि सामानहरू सार्न सहयोग गरिरहेका छन् । प्रहरीसँग मिलेर काम गर्दा छिटो पनि हुनेरहेछ ।’ प्रहरीको यो निरन्तर प्रयासले त्यहाँका बासिन्दाहरूमा हौसला जगाएको छ र उनीहरूले थोरै भएपनि राहत महसुस गरिरहेका छन् ।

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन T2T(TIMURE TO TRIVENI) Operation संचालन
२०८३-०५-२६

काठमाडौं,  भोटेकोशी नदीमा आएको बाढीमा उद्दार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन नेपाल प्रहरीले T2T(TIMURE TO TRIVENI) Operation संचलानमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्दार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्दार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित जिल्लाहरूमा पत्राचार गरिएको छ । T2T अप्रेशनमा खोज तथा उद्दारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, डिएनए प्रोफाइलिङ एवम् ट्राफिक व्यवस्थापन जस्ता विषयहरूलाई प्राथमिकता दिई कार्य गर्न नेपाल प्रहरी अग्रसर भई लागि परेको छ ।बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रका विभिन्न स्थानहरूमा बगाई वा हराई रहेका मानिस जिवित हुनसक्ने संभावनालाई विशेष प्राथमिकतामा राखेर उद्दार तथा खोजी कार्य गर्न पत्राचार गरिएको छ । मृतकको शव वा शरिरका अंग फेला परेको अवस्थामा आवश्यक मुचुल्का लगायतका कानुनी प्रकृयहरू पूरा गरी शवको उचित व्यवस्थापन गर्न, प्रभावित क्षेत्रहरूमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजातहरू फेला परेको अवस्थामा आवश्यक प्रकृयाहरू पूरा गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नेतर्फ समेत परिचालित हुन पत्राचार गरिएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहन्छ, ‘बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ ।  कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवम् केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ ।  प्रहरीले T2T अप्रेशन संचालन गरी खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेको  छ ।’ बाढी प्रभावित विभिन्न जिल्लाहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरी परिचालन     बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा T2T अप्रेशन अन्तर्गत प्रहरीले सक्रियता बढाएको छ । प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्य, शव संकलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, फोटो मोनिटरमा देखाई शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना संकलन, आवश्यक कानुनी प्रकृया पूरा गरी जमिन मुनि शवलाई सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका साथ कार्य गरिरहेको छ । भौगोलिक विकटकताका कारण उद्दारकर्ता एवम् केनाइन समेत पुग्न नसक्ने स्थानहरूमा ड्रोनको प्रयोग गरी खोजी कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै अन्य निकायसँग समन्वय र सहकार्यमा खोज कार्यलाई तीव्रता दिएको छ । अवरोध भएका सडक मार्गहरू खुलाउन एवम् सडक मार्ग नभएका स्थानहरूमा तुईन मार्फत सर्वसाधरणलाई सुरक्षित आवतजावतमा सहजीकरण समेत गरिएको छ ।  प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, आपतकालीन रक्तदान कार्यक्रम संचालन, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ गर्न सामुदायिक प्रहरी क्रियाशील छ । बाढी प्रभावित क्षेत्रमा रहेका सामुदायिक प्रहरी शाखा मार्फत समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय समुदाय विषेश गरी युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै T2T अप्रेशनलाई प्रभावकारी बनाउन विशेष जोड दिइएको छ । 

सामुदायिक प्रहरीलाई समेत विपद् व्यवस्थापनमा परिचालन
२०८३-०५-२२

काठमाडौं,भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण लगायत विस्थापित नागरिकहरूको धनजनको सुरक्षालाई मध्येनजर गरी सामुदायिक प्रहरीलाई थप क्रियाशील बनाउन नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रभावित जिल्लाहरूमा परिपत्रहरू गरिएको छ ।  बेपत्ताहरूको खोजी कार्यलाई प्राथमिकतामा राखी बाढी प्रभावित क्षेत्रहरूमा नदी किनारा, भग्नावशेष लगायतका स्थानहरूमा सामुदायिक प्रहरीको टोली परिचालन गरी खोजी कार्यलाई अझ प्रभावकारी बनाउन जोड दिइएको छ । प्रभावित नागरिकहरूलाई सम्झाई बुझाई, शव पहिचानमा सहायता, एम्बुलेन्स व्यवस्थापन, आपतकालीन रक्तदान कार्यक्रम, राहत वितरणमा सहायता, स्वास्थ्य उपचारमा सहायता, सवारी साधनमा चढाउन/ यातायातमा सहयोग, भिडभाड तथा आपतकालीन अवस्थामा माईकिङ समेत गर्ने गरी सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।विस्थापित नागरिकहरूको जनधनको सुरक्षाको लागि निरन्तर रूपमा गस्ती तथा निगरानी गर्न एवम् प्रभावित क्षेत्रहरूमा महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत अन्य संवेदनशील वर्गहरू विरूद्ध हुन सक्ने हिंसा तथा दुर्व्यवहार प्रति थप संवेदनशील भई कार्य गर्न समेत सामुदायिक प्रहरीलाई परिचालन गर्न परिपत्र गरिएको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी :
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’  पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’ विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ ।