अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-१२-३०
- A
- A-
- A+
झापा, मेचिनगर नगरपालिका-१० धुलावारी चोक कोलोनिबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचिनगर नगरपालिका-१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजबंशी रहेका छन् । लागूऔषध कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै राजबंशीको घरबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय २० ग्राम, नगद ७ हजार रूपैयाँ, मोबाइल १ थान र मोटरसाइकल १ थान समेत प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।