प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हराएका मानिसको खोजीमा सक्रिय नेपाल प्रहरी

२०८०-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् । 

आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा कस्को मन चसक्क नछोला र ! यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये   सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पार्‍यो । उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसै गरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो । तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसै गरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।  

उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् । 

हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अनजान वा लापरवाहीले अप्ठ्‍यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।”

हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्‍घाटन गर्नुभएको थियो । तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्‍लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।  

हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारी भन्नुहुन्छ, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।” 

खोजी गरी पत्ता लागिसकेपछि मानिसहरूले भन्ने गरेका छन, “अब म सचेत हुन्छु । अप्ठ्यारो स्थितिमा खोजी गर्नुजस्तो पुनित र राम्रो कामको लागि नेपाल प्रहरीलाई धन्यवाद छ ।”


सम्बन्धित समाचार
इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान
२०८२-०८-०६

काठमाडौं, इन्टरपोलको ९३औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेस खड्का समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको कार्यकारिणी समितिको विभिन्न रिक्त पदहरूको लागि निर्वाचन र मतदान समेत हुनेछ । उक्त महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी हुने र इन्टरपोलको महत्त्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिने कार्यक्रम रहेको छ ।  प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ । 

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले
२०८२-०७-१८

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ ।प्रहरी नायव महानिरीक्षक काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।  

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८२-०७-०३

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो ।  यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी निरीक्षक कृष्ण बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म २०५ जनाको मृत्यु
२०८१-०६-१४

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

२० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान
२०८१-०६-१४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाले २० जना प्रहरी कर्मचारीलाई श्रव्यदृश्य आधारभूत तालिम प्रदान गरेको   छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही शाखामा संचालित छैटौं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।  उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक कार्कीले प्रशिक्षार्थीहरूमा तालिमले क्षमता तथा दक्षता अभिवृद्धि गरेको चर्चा गर्दै प्राप्त ज्ञान, सीपको उपयोग गरी आ-आफ्नो कार्यक्षेत्रमा संगठनको नीति बमोजिम श्रव्यदृश्य सामग्री निर्माणमा व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामाग्रीले दुर्घटना लगायत अपराधको अनुसन्धान तथा नियन्त्रण गर्न देखि प्रहरीले सम्पादन गर्ने हरेक कार्यमा सहयोगी हुने उल्लेख गर्दै प्रशिक्षणको क्रममा सिकाइएका विभिन्न ज्ञान सीप प्रहरी कर्मचारीहरूको व्यवसायिक तथा व्यक्तिगत जीवनमा समेत फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रशिक्षककोतर्फबाट प्रशिक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा तालिम संयोजक प्रहरी निरीक्षक सचिता थापा मगरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ४ जना र प्रहरी जवान १४ जना गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त कार्यक्रममा श्रव्यदृश्य आधारभूत छैटौं समूहद्वारा तयार पारिएको जन्मभूमी सम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो । 

बाढी,पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु
२०८१-०६-१३

काठमाडौं, अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसो १५:०० बजे सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ४३ जना, कोशी प्रदेशमा १६ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ८६ जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १८ जना, कोशी प्रदेशमा ६ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ६८ जना गरी जम्मा १०१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ३ सय ८४  जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ३ हजार ६ सय ६१ जनाको उद्दार गरिएको छ । साथै बाढी पहिरोमा परी ५५ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।  साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।